• प्रदेश पाँचमा देखिएको मधेस केन्द्रीत दलको अवस्था नाजुक

    स्थानीय तहको दोस्रो चरणको निर्वाचन मधेस केन्द्रीय दल राष्ट्रिय जनता पार्टी नेपालले बहिष्कार गर्‍यो। निर्वाचनमा अवरोध गर्ने चेतावनीका बाबजूद राजपाका केही नेताहरु स्वतन्त्र हैसियतमा चुनावमा सामेल भए।

    स्थानीय तहको निर्वाचनमा सहभागिताको विषयलाई लिएर मधेस केन्द्रीत दलहरुबीच फाटो समेत आयो। संघीय समाजवादी फोरम नेपाल र मधेसी जनाधिकार फोरम लोकतान्त्रिक निर्वाचनमा सहभागि भए। राजपा बाहिरै रह्यो। निर्वाचनमा सहभागि भएका र स्वतन्त्र हैसियतमा उठेका राजपाका नेताहरुले निर्वाचनमा प्रभाव पारिरहेका छन्।

    कस्तो छ त उनीहरुले प्रदेश पाँचमा प्राप्त गरेको मत? आइतबार बिहान ३ बजेसम्म सेतोपाटीलाई प्राप्त मतको विवरण हेर्नुहोस्

    बाँकेको सबैभन्दा धेरै जनसंख्या रहेको नेपालगञ्ज उपमहानगरपालिकामा मधेस केन्द्रीत दलहरुले प्रभाव देखाउन सकेनन्। मतगणनामा उनीहरुको स्थान चौथो भन्दा पनि तल छ।

    मुसलमानहरुको ठूलो जनसंख्या रहेको नेपालगञ्जमा मधेस केन्द्रीत दलहरुको प्रभाव देखिएन। जबकी हिन्दु राष्ट्रको नारा बोक्ने राप्रपाका उम्मेद्वार धवलशमशेर राणा अग्र स्थानमा छन्। मधेस केन्द्रीत दलहरु नेपालगञ्जको ‘सिन’बाटै गायब भए।

    तर, बाँकेको जानकी गाउँपालिकामा भने संघीय समाजवादी फोरम नेपालका नन्दकिशोर बर्मा कुर्मी दोस्रो स्थानमा छन्। त्यहाँ पहिलो स्थानमा राप्रपाका श्यामबहादुर थापा छन्। अर्थात् संघीय समाजवादी फोरमले कडा ट्क्कर दिइरहेको छ।

    बाँकेकै डडुवामा कांग्रेसका नरेन्द्र चौधरी ४६९१ मत ल्याएर विजयी भए। उपाध्यक्षमा साहिदा बानुले ४३१५ मत ल्याइन्। डडुवामा एमाले र माओवादी केन्द्रले होइन कांग्रेसलाई चुनौती संघीय समाजवादी फोरम नेपालका विजयकुमार यादवले नै दिए। उनले ४१९२ मत ल्याए। उपाधयक्षमा जबिदा खातुन ४१३४ मत ल्याइन्।

    बाँकेकै नरैनापुर गाउँपालिका संघीय समाजवादीले जीत नै हात पार्‍यो। संघीय समाजवादीका इश्तियाक अहमद शाह ४०८० मत ल्याएर विजयी भए। कांग्रेसका रामचन्द्र मौर्य ३३८८ मतमै रोकिए। उपप्रमुखमा पनि संघीय समाजवादीका जयन्तीदेवी शरीवास्तव ३०४४ मत ल्याएर विजयी बने।

    थारुहरुको राम्रो उपस्थिति रहेको दाङमा पनि मधेस केन्द्रीत दलहरुको प्रभाव रहन सकेन। मतपरिणामको प्रतिष्पर्धामा उनीहरुको नामो निशान छैन। बर्दियामा पनि मधेस केन्द्रीत दलहरु निर्वाचनमा सहभागि थिए? भन्ने प्रश्न गर्नुपर्ने अवस्था छ।

    कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा भने राजपाको बहिष्कारका बाबजूद स्वतन्त्र रुपमा रामदास गुप्ता उम्मेद्वार छन्। उनले कांग्रेसका किरण यादवलाई टक्कर दिइरहेका छन्। २२७१ मत ल्याएर किरण यादव अगाडि रहँदा गुप्तासँग २२५७ मत छ।

    कपिलवस्तुको कृष्णनगरमा संघीय समाजवादी फोरमका बागी उम्मेद्वार रजतप्रताप शाह १४९२ मतका साथ अगाडि छन्। त्यस्तै मायादेवी  गाउँपालिकामा संघीय समाजवादी फोरमका मायादेवी कुर्मीले २३१५ मतका साथ लिड गरिरहेका छन्। नेपाली कांग्रेस काबलिउद्दित मुसलमानसँग उनको प्रतिष्पर्धा छ।

    कपिलवस्तुको विजयनगरमा एमालेका गोपालबहादुर थापा २६३१ मतले अगाडी छन्। तर स्वतन्त्र उम्मेद्वार रहेका राजपाका जानकीप्रसाद यादव २१२९ मतका साथ पछ्याइरहेका छन्।

    शिवराज गाउँपालिकामा नेत्रराज अधिकारी ३५५४ मतका साथ अगाडी छन्। उनी एमालेका हुन्। तर फोरम लोकतान्त्रिकले उनलाई टक्कर दिन सकिरहेको छैन। भलै फोरम लोकतान्त्रिक दोश्रो स्थानमा छ। फोरम लोकतान्त्रिकका शतिशचन्द गुप्ता ५५५ ल्याएर उनलाई पछ्याइरहेका छन्।

    रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेद्वारी दिएका राजपाका मनमोहन चौधरी २१२३ मतका साथ अगाडि छन्। लुम्बिनीमा संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खान ७७७ मतले पछ्याइरहेका छन। अनि फोरम लोकतान्त्रिककै सजरुद्दिन खान ४७७ मतका साथ प्रतिष्पर्धामा डटिरहेका छन्। तिनै मधेस केन्द्रीत दलबीत कडा प्रतिष्पर्धा लुम्बिनीमा देखिएको छ।

    रोहिणी गाउँपालिकामा संघीय समाजवादीका समाद यादव अग्र स्थानमा छन्। उनले २२९५ मत ल्याएका छन्। राप्रपाका ताहिर अलि २१८९ मतले उनलाई पछ्याइरहेका छन्।

    मायादेवी गाँउपालिकाको प्रमुखमा राम अधारे यादव १६३४ मत ल्याएर अगाडि छन्। उनी स्वतन्त्र हैसियतमा उठेका राजपाका नेता हुन्। उनीसँग संघीय समाजवादी फोरमका हरिकुमार चौधरी १५३० ल्याएर प्रतिष्पर्धामा उत्रिएका छन्।

    मर्चवारीमा संघीय समाजवादी फोरम केशवनन्द बाँनिया १२७३ मतका साथ अगाडी छन्। त्यहाँ नेपाली कांग्रेसका ज्ञानप्रसाद मिश्र ७३३ मतका साथ दोश्रो स्थानमा छन्।

    गैडहवा गाउँपालिकामा संघीय समाजवादीका बचुलाल कबट १०१९ मतले अगाडी छन्। त्यहाँ कांग्रेस संघीय समाजवादी भन्दा धेरै पछाडि छ। अर्थात् उसका बसिउल्ला मुसलमान ५७९ मतमा रोकिएका छन्।

    नवलपरासीको सुस्तामा एमालेका रामप्रसाद पाण्डेय ३५११ ल्याएर विजयी भए। सुस्तामा मधेस केन्द्रीत दलहरुको हैसयत देखिएन। संघीय समाजवादीका सिनमा देखिएका गंगाराम चौधरी १४८ मतका साथ केवल चौथो हैसियतमा रहे।

    पाल्हिनन्दनमा पनि एमालेका वैजुप्रसाद यादव २२२१ मतका साथ अग्र स्थानमा रहँदा संघीय समाजवादी धरेन्द्र यादव ५७७ मतमा पछाडि छन्।

    प्रतातपुरमा कांग्रेसका राजकुमार शर्मा विजयी भए। उनले ४४३६ मत ल्याउँदा फोरम लोकतान्त्रिकका खेमनारायण चौधरी ३७२७ मतमा रोकिन बाध्य भए।

    सरावल गाउँपालिकामा भने फोरम लोकतान्त्रिकले जीतको स्वाद चाख्न पायो। उसका राधेश्याम चौधरी थारु  विजयी भए। त्यहाँ कांग्रेसका प्रदिप अग्रहरी पराजित भए।

    समग्रमा पाँच नंम्बर प्रदेशका समथर भूभाग र तराई बेल्टमा मधेस केन्द्रीत दलहरुले उपस्थिती दर्ज गरेका छन्। तर उनीहरुलाई जीत निकाल्न धौधौ परेको छ। मुख्य प्रतिष्पर्धा कांग्रेस एमाले र माओवादीबीच भैरहँदा गाउँपालिकाहरुमा मधेस केन्द्रीत दलहरु खुम्चिएका छन्। अर्थात् सानो जनसंख्यामा मात्र उनीहरुको पकड देखिएको छ।

    संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिकले एक एक स्थानीय तह जितेका छन्। अनि केही स्थानमा दोश्रो भएर चुनौती पस्किएका छन्। राजपाका स्वतन्त्र उम्मेद्वारहरुलाई भने कपिलवस्तुको नजिता पछि मात्रै आँकलन गर्नु उचित देखिन्छ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt