दान गरेर नथाक्ने मैयाँदेवी

नारायण अधिकारी
भरतपुर, १९ असार ।

जीवनभर दान गरेर कहिल्यै नथाकेकी मैयाँदेवी श्रेष्ठलाई अझै दान गर्ने धोका बाँकी छ ।

जीवनमा दान गरेको सबै हिसाब किताब त थाहा छैन उनलाई तर पनि अहिलेको प्रचलित मूल्यअनुसार हिसाब गर्ने हो भने रु एक अर्बभन्दा बढीको सम्पत्ति उनले दान गरिसकेकी छन् । बिपीको निधन अघि टुँडिखेलको अन्तिम सभामा सम्बोधन सुन्न काठमाडौँ आइपुगेकी श्रेष्ठलाई सभापछि भेटघाट हुँदा बिपीले भोलिपल्ट घरमै डाके । त्यसो त बिपीले बोलाएको भन्ने खबरै पाएर उनले उपहारस्वरुप गाईको घ्यू, मह, कागती लिएर काठमाडौँ गएकी थिइन् ।

भोलिपल्ट बिपी निवास पुगेकी उनलाई भावुक हुँदै बिपीले श्रीमती सुशीलालाई देखाउँदै भने, “म अब धेरै बाँच्दिन यिनीहरूलाई बस्ने एउटा घडेरी दिन सक्नुहुन्छ ?” श्रेष्ठले भनिन्, “मेरो आँखाबाट आँसु आयो, मैले हुन्छ भनेँ, मेरो हातमा बिपीले सुशीलाको हात राखिदिनुभयो ।” तर अहिलेसम्म उनले त्यो घडेरी दिन पाएकी छैनन् ।

उनानब्बे वर्षीया श्रेष्ठ विगत केही वर्षयता रोगका कारण कमजोर भएकी छन् । सपनामा पनि बिपीलाई देख्ने गरेको उनी बताउँछिन् । श्रेष्ठले भनिन्, “बिपी पुत्र शशांकलाई एउटा घडेरी छुट्याएको छु । त्यो दिन पाए मेरो सबै इच्छा पूरा हुने थिए ।” पछिल्लोपटक छोरा टंक बाबुले फोन गरेर बोलएपछि सानो भ¥याङ काठमाडौँको घरमा शशाङ्कले भेटे पनि अमेरिकाबाट फर्किएपछि रजिस्ट्रेसन गरौँला भनेको उनले बिर्सिएकी छैनन् ।

आजभोलि शशांक फर्किने बताउँदै उनले भनिन्, “यो मेरो जीवनको अन्तिम इच्छा हो । यो घडेरी दिएपछि सबै इच्छा पूरा हुन्छ ।” श्रेष्ठलाई आजभोलि समय समयमा बैंककमा लगेर उपचार गर्ने गरिएको छ । सम्पत्ति दान गरेपछि आफ्नो स्वास्थ्यमा सुधार हुने गरेको उनी बताउँछिन् । उनले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पनि चामल, घ्यू, तेल, तरकारीलगायत सामग्री दिइराख्थिन् । कति वर्ष भट्टराईलाई खुवाउनुभयो भन्ने प्रश्नमा उनले भनिन्, “विसं २००३ मा म राष्ट्रिय कांग्रेस बनेँ त्यसदेखि समय–समयमा पु¥याइराख्थेँ ।”

उनले कांग्रेस नेतालाई मात्रै होइन, पार्टीका लागि पनि दान गरेकी छन् । पार्टीका वडा, जिल्लादेखि केन्द्रीय कार्यालय भवनसमेत उनले दिएको जग्गामा बनेका छन् । “किसुनजीको आग्रहमा पार्टीलाई घरजग्गा दान गरेकी हुँ”, किसुनजीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भनिन्, “मैयाँ, पार्टी गरिब छ, पार्टीलाई कार्यालय चाहियो ।” भट्टराईको यो भनाइपछि उनले आफू बस्दै आएको रविभवनस्थित घर पार्टीलाई दिइन् । त्यतिबेला नेपाली कांग्रेसको केन्द्रीय कार्यालय त्यही घरबाट सञ्चालन हुन्थ्यो । हाल उक्त घरमा नेपाल तरुण दल र भूपू सेनानी संघको कार्यालय छ ।

भरतपुर महानगरपालिका वडा नं ३ मा रहको जग्गा श्रेष्ठले पार्टीको जिल्ला कार्यालय बनाउन दान दिइन् भने पार्टीको गोरखा जिल्ला कार्यालय निर्माणका लागि रु. २० लाख दिइन् । देवघाटमा पनि पार्टीका लागि घडेरी दान गरिन् । यससँगै भरतपुरमा मैयाँदेवी कन्या क्याम्पसका लागि जग्गा खरिद गरी भवनसमेत निर्माण गरिदिइन् । उनकै नाममा स्नातकोत्तरसम्मको पढाइ उक्त क्याम्पसमा हुँदै आएको छ ।

यसैगरी नेपाल प्रेस युनियन चितवन शाखालाई भरतपुर–११ मा, पिस फेडेरेसनलाई भरतपुर–११ मा, नारायणचारी बाबालाई देवघाटमा, डा. रामानन्द गिरी संरक्षक रहेको महेश संन्यास आश्रम देवघाटलाई, नारायणगढस्थित पतञ्जली योग समितिलाई नेवा पुचःलाई पनि उनले जग्गा दान गरेकी छन् । अविवाहित उनको सेवामा समर्पित भएर छोरा बनाइएका टंकनाथ पौडेल, ऋषिराम गौतम, हरिनारायण सापकोटा र मधुराम दुवाडीलाई गुजारा चल्ने गरी नारायणगढ बजारमा जग्गा दिएकी छन् ।

त्यसैगरी दाइका छोराहरू प्रेमकुमार श्रेष्ठ, सिद्धकुमार श्रेष्ठ र बुहारी कल्याणी श्रेष्ठलाई पनि उनले जग्गा दिएकी छन् । आफूले हुर्काएका नारायणगढका कृष्णप्रसाद श्रेष्ठलाई बजारमै घडेरी दिएकी छन् भने भान्से इन्दिरा ढकाललाई देवघाटमा घडेरी दिएकी छन् । पुजारी रामबहादुर कार्की र उनकी श्रीमती देवीलाई देवघाटमा घडेरी दिएकी छन् । यौवन अवस्थादेखिका साथी विष्णुमाया श्रेष्ठलाई नारायणगढ बजारमा घडेरी दिएकी छन् ।

श्रेष्ठकी आफन्त मन्दिरा श्रेष्ठलाई देवघाटमा र बुबाको अन्त्येष्टिमा पाल्पाबाट झिकाएका शिस्वानी बाजे र बजैलाई पनि उनले नारायणगढ बजारमा घडेरी, पुरोहित षडानन्द लामिछानेलाई नारायणगढमा, ट्रष्टका सचिव हरि ढकाललाई देवघाटमा, पूर्व मन्त्री चित्रलेखा यादवलाई देवघाटमा, ठूलीआमाको छोरा कृष्णभाइ प्रधानलाई देवघाटमा, नातिनी उन्नती अधिकारी र श्रेया पौडेललाई समेत उनले घडेरी दिएकी छन् ।

यसैगरी खोपमबहादुरलाई बसेनीमा र सहयोगी काजीरामकी श्रीमतीलाई पनि बसेनीमा घडेरी दिएकी श्रेष्ठले भनिन्, “अरु पनि धेरैलाई दिएँ, तर सबैको सम्झना छैन ।” उनको यतिका सम्पत्ति पुख्र्याैली नै हो । श्रेष्ठका पिता वीरबहादुर श्रेष्ठ १९९० ताका तनहुँको बन्दिपुरबाट स–परिवार नारायणगढ झरेका थिए । उनका पिता तत्कालीन अवस्थामा नारायणगढमा भारतदेखि सामान ल्याएर बिक्री गर्ने ठूला व्यापारी थिए ।

बाल्यकालदेखि छोराको रूपमा रहेर नै मैयाँदेवीको सेवामा समर्पित टंकनाथका अनुसार नारायणगढ बजारको मुख्य भाग सबै उनीहरूकै आफन्तको स्वामित्वमा थियो । पौडेलले भने, “नारायणगढ बजारमा मात्रै करिब तीन विघा जग्गा थियो ।” नारायणगढमा मात्रै होइन, उनीहरूको भरतपुर–११ बसेनीमा १० विघा र तनहुँको देवघाटमा ३३ रोपनी जग्गा थियो । जीवनभर दान गर्दै आएकी श्रेष्ठको नारायणगढमा सात कट्ठा, बसेनीमा एक विघा, देवघाटमा १२ रोपनी र भतेरीमा एक विघा जमिन बाँकी छ ।

उनले नारायणगढमा आफू बस्दै आएको घर मैयाँदेवी ट्रष्ट खोलेर दान गरेकी छन् । सोही ट्रष्टमा रु. दुई करोड नगद पनि राखेकी छन् । आफू बसेको घर ट्रष्टलाई दिएपछि भरतपुर–२, क्षेत्रपुरमा सानो घर किनेर बस्दै आएकी उनले बाँकी सम्पत्तिमध्ये एउटा घडेरी डा. शशांक कोइरालाको नाममा रजिष्ट्रेसन गरेर दिने र बाँकी सबै सम्पत्ति ट्रष्टमा राख्ने उनको धोको छ । एघार वर्षको उमेरमा मैयाँदेवीको सेवा गर्न आएका ४६ वर्षीय टंकनाथले मैयाँदेवीका सामाजिक अभियानमा साथ दिँदै आएका छन् ।

दर्जनौँ संघसंस्थामा क्रियाशील र देवघाट क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेका पौडेल दुःखी, गरिब, असहाय जो कसैले पनि मागेपछि मैयाँदेवीले दिने गरेको बताउँछन् । उनले भने, “आमाले मागेकालाई दिन्न भन्नुहुन्न ।” जीवनभर दान गरेकी मैयाँदेवी राजनीतिका धेरै पदमा बसेर पनि कहिल्यै कमाउने धन्दामा लागिनन् । निष्कलङ्क श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ बाट सांसद् र राष्ट्रिय सभाको सदस्य भएर देश र जनताको सेवामा समर्पित भएकी थिइन् ।

पद र प्रतिष्ठाका लागि कहिल्यै मरिहत्ते नगर्ने उनले सधैँ पार्टी, राष्ट्र र जनताको भलो मात्रै सोचिरहिन् । मैयाँदेवीकै सङ्गतले होला छोरा टंकनाथले पनि कुनैपनि बैठकमा भत्ता नलिने घोषणा गरेका छन् ।

राजनीतिमा हुने आर्थिक चलखेल र राजनीतिलाई कमाउको पेसा बनाउनेहरूका लागि मैयाँदेवी एउटा उदाहरण हुन् । उनले अख्तियार गरेको बाटोमा हिँड्न सक्ने हो भने राजनीतिप्रतिको जनताको भावनामा पनि ठूलो परिवर्तन आउनेमा निश्चित छ । रासस

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt