• भैरहवामा २० वर्षपछि एमालेको ‘कम व्याक’, मेयरमा हरिप्रसाद र उपमेयरमा उमा विजयी

     भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिका) मा २० वर्ष यता कुनै पनि निर्वाचनमा जित हासिल गर्न नसकेको एमालेले ०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो झण्डा गाड्न सफल भएको छ । सिद्धार्थनगर नगरपालिकाको मेयर र उपमेयरसहित ६ वटा वडाहरुमा समेत एमाले विजयी भएको छ ।

     

    भैरहवाको मेयर पदमा एमालेका हरीप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ६ हजार ७०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मातृका यादवले ५ हजार २५० मत प्राप्त गरेका छन् ।

    त्यस्तै उपमेयर पदमा एमालेकी उमा काफ्ले निर्वाचित भएका छिन् । उनले ६ हजार १७२ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनको प्रतिद्वन्द्वी कांग्रेसकी माधवी शर्मा वाग्लेले ५ हजार २२४ मत प्राप्त गरेकी छिन् ।

    यसैगरी राप्रपाको मेयर पदका उम्मेदवार सागरप्रताप राणाले ४ हजार ६३७ र उपमेयर उम्मेदवार रमिता थापामगर केसीले ३ हजार ५१७ मत प्राप्त गरे ।

    माओवादीका फैज अहमद खाँले ३ हजार ४०७ र उपमेयरमा कमला थापाले ३ हजार १२९ मत पाएका छन् ।

    मेयर र उपमेयर सहित नगरका वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ ।

    त्यस्तै कांग्रेस वडा नम्बर १, ६, ७, ८, १०, १२ मा विजयी भएको छ भने वडा नम्बर ४ संघीय समाजवादी फोरम नेपालले जितेको छ ।

    नगरको वडा नम्बर एकको वडाअध्यक्ष पदमा कांग्रेसका रमेश मल्ल, २ मा एमालेका दिपक कुमार थापा, ३ मा एमालेका थानेश्वर पौडेल, ४ मा संघिय समाजवादी फोरम नेपालका मुक्तिनाथ यादव ‘भोला’, ५ मा एमालेका चेत बहादुर क्षेत्री, ६ मा कांग्रेसका विनोद श्रीवास्तव, ७ मा कांग्रेसकै भिमसेन कर्माचार्य विजयी भएका छन् ।

    त्यस्तै वडा नम्बर ८ को वडाअध्यक्षमा कांग्रेसका राजनजंग राणा, ९ मा एमालेका शेषकान्त भण्डारी, १० मा कांग्रेसका विजयनाथ धोवी, ११ मा एमालेका दिलिप यादव, १२ मा कांग्रेसका करुन्जन श्रेष्ठ र १३ मा एमालेका शतिस प्रसाद मर्सानी विजयी भएका छन् ।

    को हुन् अधिकारी ?

    सिद्धार्थनगर नगरपालिका ०५४ सालको स्थानीय निर्वाचनमा उपमेयरमा निर्वाचित भएर काम गरिसकेका अधिकारी पुनः अहिले भैरहवाको मेयर पदमा निर्वाचित भएका छन् ।

    हाल नेपाल ईंट्टा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष र विभिन्न समाजिक संघ संस्थामा आवद्ध रहेका अधिकारीले पार्टीमा ०४८ सालदेखि नगरको वडा सदस्य, सचिव, क्षेत्रिय सदस्य हुँदै युवा संघमा समेत काम गरिसकेका छन् । तीन कार्यकालदेखि उनी रुपन्देहीको जिल्ला कमिटी सदस्यमा छन् ।

    ०२८ सालबाट भैरहवामा बसोबास गर्दै अधिकारीको जन्म अर्घाखाँचीको साविकको ठाडा गाविस (हाल सितगंगा नगरपालिका)मा बुवा जीवलाल अधिकारी र आमा यमकला अधिकारीको कोखबाट २०१७ सालमा भएको थियो । उनी चार भाइ मध्येका कान्छो हुन् ।

    अधिकारी ०२८ सालदेखि भैरहवामा बसोबास गर्दै आएका छन् । भैरहवाको लिलाराम न्यौपाने उच्च माविबाट (तत्कालिन इन्द्रराज्य लक्ष्मी माविबाट) एसएलसी उत्तीर्ण गरेका अधिकारीले ०४७ सालमा शान्ता भटट्राईसँग वैवाहिक जीवन सुरु गरेका थिए । उनका दुई छोरा छन् ।

    सानै उमेरदेखि सामाजिक काममा क्रियाशिल रहेका उनी ०३५ सालबाट राजनीतिमा लागेका थिए । औपचारिक रुपमा राजनीतिक यात्रा भने ०३६ सालबाट अखिल छैठौंबाट सुरु भएको थियो ।

    ०४७ सालमा नेकपा मालेमा प्रवेश गरेका उनी मार्क्सवाद र माले पार्टीबीच एकीकरण भएर बनेको एमालेमा सक्रिय रहे । एमालेबाट ०४९ सालमा उनी नगरको वडा नम्बर ८ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

    २०६२/०६३ को जनआन्दोलनमा रुपन्देही र काठमाण्डौँमा नेतृत्वदायी भूमिका खेलेका अधिकारी एमाले जिल्ला कमिटीमा विवाद रहित नेताको रुपमा परिचित छन् । अहिले सम्म उनले सम्हालेका अधिकांश नेतृत्व सफल भएको उनका निकटतम बताउँछन् ।

    ०५१ र ०५३ सालमा भएको संसदिय निर्वाचनमा भैरहवामा एमालले विजयी हासिल गरेको थियो । त्यसयता कुनै पनि निर्वाचन विजयी हासिल गर्न नसकेको एमालेले अहिलेको निर्वाचनमा सिद्धार्थनगरको मेयर र उपमेयर तथा केही वडा सहित सिद्धार्थनगरमा आफ्नो झण्डा गाडेको छ ।

    विजय पश्चात संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पहिला आफुले चुनाव अघि नगरवासीसगँ गरेको ६५ बुदे प्रतिवद्धता अनुसार काम गर्ने बताए ।

    उनले सबै राजनितिक दल, उद्योगी व्यवसायी, स्थानियहरुको सहभागितानगर विकासको गुरुयोजना बनाई चरणबद्ध रुपमा काम गर्ने बताउँदै नगरलाई देशकै नमुना नगर बनाएर देखाउने बताए ।

    को हुन् उपमेयर काफ्ले ?

    वि.सं. २०१६ साल फागुन १५ गते बुबा पुनाराम खनाल र आमा मायादेवी खनालको कोखबाट जन्म लिएकी उमा काफ्लेको पेशा राजनीति नै हो ।

    बि.ए सम्मको औपचारिक शिक्षा हासिल गरेकी काफ्लेले २०२७ साल जेठमा ७ कक्षामा पढ्दा इन्द्र राज्यलक्ष्मी माविमा गुणस्तर शिक्षाको माग गर्दै भएको विद्यार्थी आन्दोलनमा सक्रिय भई अर्धबार्षिक परीक्षा नै बहिस्कार गरेकी थिइन् ।

    ०३६ सालको निर्दल बहुदलको निर्वाचनमा बहुदलको पक्षमा भूमिगत रुपमा सक्रिय भूमिका खेलेकी उनी केही वर्ष भैलुभुजामा जागिरे भइन् ।

    ०४६ सालको आन्दोलनदेखि पार्टीको साधारण सदस्यका रुपमा काम गरेकी उनले २०५३ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेकी हुन् ।

    पार्टीको वडा कमिटी सदस्य हुदै नगरको उपसचिव भएकी उनी अखिल नेपाल महिला संघको जिल्ला कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हुदै रुपन्देहीको जिल्ला अध्यक्ष समेत भइसकेकी छिन् ।

    हाल दोस्रो कार्यकाल अनेमसंघको निर्वाचित अध्यक्षको समेत भुमिकामा रहेकी काफ्ले नेकपा एमाले रुपन्देही जिल्लाको आठौ अधिवेसनबाट जिल्ला सदस्यमा निर्वाचित भएकी हुन् ।

    ०६२/०६३ आन्दोलनका क्रममा चैत १३ गते र शाही कालमा भएको नगर निर्वाचन बहिष्कार गर्दा गिरफ्तारीमा परेकी थिइन् ।

    टंकनाथ काफ्लेसँग २०३२ सालमा वैवाहिक सुरु गरेकी काफ्ले दम्पतीको ३ छोरी १ छोरा छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt