• राष्ट्र पति रनिग शिल्ड प्रतियोगिता राष्ट्रपति द्दारा नै उद्घाटन

    असार २३, २०७४- राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदमा पहिलो दिन बिहीबार मध्यमाञ्चलका अजितकुमार यादवले विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

    दशरथ रंगशालामा एथलेटिक्सको १५ सय मिटर दौडमा अजितले ४ मिनेट ०३.३८ सेकेन्डमा दूरी पूरा गर्दै आफैंले अघिल्लो संस्करणमा बनाएको ४ मिनेट १४.५ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । सुदूरपश्चिमका सुनील सुनार दोस्रो र मध्यपश्चिमका माधवकुमार चौधरी तेस्रो भए । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमकी राममाया बुढा ५ मिनेट १७.०४ सेकेन्डका साथ विजेता भइन् । मध्यपश्चिमकै आशा राउत दोस्रो र मध्यमाञ्चलकी हुमी बुढामगर तेस्रो भए ।

    छात्र लङजम्पमा पश्चिमाञ्चलका प्रभु थारु र छात्रामा सुदूरपश्चिमकी गायत्री चौधरी विजयी भए ।

    उसु : राखेपको सेमी कभर्डहलमा उसुको छान छानमा मध्यमाञ्चलका राजीव तामाङ ९.१५ अंक जोडदै पहिलो भए । छात्रामा मध्यमाञ्चलकी अनु राई ७.९० अंकसाथ विजेता भइन् ।

    कराते : लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको करातेको छात्र ४२ केजीमा मध्यमाञ्चलका अनिल उपरकोटीले स्वर्ण जिते । फाइनलमा उनले पश्चिमाञ्चलका बुद्ध लामालाई हराए । ४७ केजीमा मध्यमाञ्चलका साजन लामा विजयी भए । उनले स्वर्ण भिडन्तमा मध्यपश्चिमका गोपाल घर्तीमगरलाई हराए ।

    छात्राको ४० केजी फाइनलमा मध्यमाञ्चलकी जिया खड्गीले पश्चिमाञ्चलकी मंगला बुढामगरलाई हराएर स्वर्ण जितिन् ।

    भलिबल : राखेपको कभर्डहलमा भएको छात्रा भलिबलमा मध्यमाञ्चलले दोहोरो जित निकालेको छ । मध्यमाञ्चलले सुदूरपश्चिमलाई २५–७, २५–९ ले र पश्चिमाञ्चललाई २५–१३, २५–१० ले हराए । पश्चिमाञ्चलले मध्यपश्चिमलाई २५–१०, २५–१६ र मध्यपश्चिमले पूर्वाञ्चललाई २५–१४, १६–२५ र २५–१४ ले हराए ।

    छात्रमा सुदूरपश्चिमलाई २५–१९, २५–१२ ले हराएको मध्यमाञ्चल पश्चिमाञ्चलसँग भने १८–२५ र १७–२५ ले हार्‍यो ।

    राष्ट्रपति भण्डारीले उद्घाटन कार्यक्रममा देशमा खेलकुदको विकासका लागि विद्यालयलाई आधार बनाएर सुरु गरिएको यो प्रतियोगिता प्रतिभा पहिचान गर्ने उपयुक्त माध्यम भएको धारणा व्यक्त गरिन् । राष्ट्रपतिले दुई खेलबाट सुरु भएको प्रतियोगताको नवौं संस्करणसम्म आइपुग्दा ८ खेल समावेश हुनुले दायरा फराकिलो बन्दै गएकोमा खुशी व्यक्त गरिन् ।

    तीनदिने केन्द्रीय स्तरको यस प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी ८ खेल समावेश छन् ।

     

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt