• यसकारण रोकियो राप्रपासहितका साना दलको ‘सत्तारोहण’

    काठमाडौं– सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल विस्तार नगरी बसेका प्रधानमन्त्री शेरबहादुर देउवाले  यसविषयमा पछिल्ला दिनमा  भने केहि सक्रियता देखाएका छन् ।

    मूलतः देउवाले आफ्नै पार्टी र  सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई मिलाएर थप मन्त्रिमण्डल विस्तारको तयारी थालेका हुन् ।  यसका लागि देउवाले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग परामर्श गर्दै आएका छन् भने शनिबारमात्रै राप्रपासहितको तीन दलको बैठक बसालेर पनि छलफल गरेका छन् ।

    देउवाले मन्त्रिमण्डल विस्तार गर्ने उद्देश्यले छलफल  गर्दै आएपनि आफ्नै पार्टीभित्र र बाहिरको समस्या नसुल्झिँदा ‘केहि दिनमै’ हुने भनिएको मन्त्रिमण्डल कहिले विस्तार हुन्छ भन्नेमा स्वयम् प्रधानमन्त्री निकटस्थहरु नै अन्योलमा रहेका छन् । देउवा निकट स्रोतले मन्त्रिमण्डल विस्तारका लागि छलफल भएपनि कहिले हुन्छ भन्नेमा  भन्न  सकिने अवस्था नरहेको बताएको छ ।

    दोस्रो चरणको स्थानीय तह निर्वाचनको   प्रम भएका देउवाले आठ सदस्यीय मन्त्रिमण्डल बनाएपनि थप मन्त्रिमण्डल विस्तार चुनावपछिलाई सारेका थिए ।  तर  चुनाव सम्पन्न भएको दुई साता बित्दै लाग्दा पनि मन्त्रिमण्डल विस्तार  हुन नसकेको हो । देउवाले मन्त्रिमण्डल विस्तार गर्न ढिलाई गर्दैगर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले उनको कार्यशैलीलाई लिएर  सार्वजनिक आक्रोश व्यक्ति गरिसकेको छ ।  बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा माओवादी प्रवक्ता पम्फा भुसालले कांग्रेसकै आन्तरिक कारणले मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको बताउँदै देउवाको आलोचना गरेकी थिइन् ।

    स्रोतहरुका अनुसार कांगेसको आन्तरिक कारणका साथै माओवादी केन्द्रसँगको मन्त्रालय  संख्या र भागबण्डा, देउवाको ढिलासुस्तीलगायतका कारण मन्त्रिमण्डल विस्तार हुन नसेको हो ।

    के गर्लान् राप्रपा र अरु साना दल ?
    संसदको चौथो ठूलो शक्ति राप्रपाले सरकारमा सहभागि हुने इच्छा देखाएपनि देउवाकै ढिलासुस्ती र वेवास्ताका कारण ढिलाई भइरहेको बताइएको छ ।  पहिला कांग्रेस र माओवादी केन्द्रबीचको भागबण्डा मिलाउने र त्यसपछि मात्रै  आवश्यकताअनुसार राप्रपा र अरु साना  दललाई सरकारमा ल्याउने  मूडमा देउवा रहेका छन् ।

    देउवाको सोहि मूडका कारण राप्रपाले सरकारमा सहभागि हुनको लागि वार्ता टोली बनाएको भएपनि  एक महिनाको बीचमा कुनै प्रगति हुन नसकेको नेताहरुले बताएका छन् ।

    वार्ता टोलीका सदस्य राप्रपा नेता  दिलनाथ गिरीले हालसम्म कुनै प्रगति हुन नसकेको रातोपाटीलाई बताए । ‘सरकारमा हामीले चाहेको सम्मानजनक सहभागिता हो । तर उहाँहरुले अहिलेपनि स्पष्ट जवाफ दिनुभएको  छैन’, उनले भने, ‘हामी भन्दा साना दलले उपप्रधानमन्त्री पाउँदा हामीले नपाउँने भन्ने हुँदैहुँदैन ।’

    उनले संविधान संशोधनलगायतका महत्वपूर्ण विषयमा राप्रपाको समर्थन रहने भन्दै चौथो शक्तिलाई वेवास्ता नगर्न समेत चेतावनी दिए ।

    राप्रपा  देउवा नेतृत्वको सरकारमा जान तम्तयार रहेको छ तर उपप्रधानमन्त्री पाउने या नपाउने भन्ने  विषयले मात्रै अलमलमा रहेको बताइएको छ ।

    राप्रपाभित्र कमल थापा  र उनी निकटका नेताहरु  उपप्रम पाएमात्रै सरकारमा जाने पक्षमा रहेका छन् भने कमल थापा इतरका अर्का नेता पशुपति शमशेर राणा खेमाका नेताहरु  उपप्रम नपाएपनि सरकारमा जानुपर्ने पक्षमा रहेका छन् ।  सत्तारुढ दलले यसअघि नै उपप्रमबाहेकको तीन मन्त्रालय राप्रपालाई दिने बताएको थियो ।

    तर कमल थापा खेमाका नेताहरुले उपप्रमबिना सरकारमा सहभागि नहुने  सन्देश देउवालाई पठाएको थियो भने सरकारमा उपप्रमसहितको सम्मानजनक उपस्थितिको माहोल बनाउन महामन्त्री  जयन्त चन्दको संयोजकत्वमा वार्ता समिति बनाएको थियो । यद्यपी सो वार्ता टोलीले अहिलेसम्म कुनै सहमति जुटाउन नसकेको हो र सरकारमा सहभागि हुने नहुने बारे पनि कुनै ठोस प्रगति हुन नसकेको हो ।

    राप्रपा प्रवक्ता सुशील श्रेष्ठले सरकारमा सहभागि हुने बारे छलफल सकारात्मक  हुँदै गएको भन्दै वार्ता टोलीले सबै विषयमा टुंगो लगाउने बताए । उनले आगामी ४ बजे बस्ने बैठकले सरकारमा सहभागि हुने विषयमा  थप निर्णय गर्ने बताए । उनले अहिलेकै अवस्थालाई हेर्दा ४ गतेअघि राप्रपा सरकारमा जाने संकेत नदेखिएको समेत बताए ।

    यसैबीच साना दलहरु सरकारमा सहभागि हुन  देउवाको जवाफ कुरेर बसेका छन् । सरकार गठनका वेला कांग्रेसले साना दललाई सरकारमा सहभागि गराउने बचन दिएको भएपनि  त्यसपछि भने कुनै छलफल नभएको बताइएको छ । नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले सरकार गठनका बेला आफूलाई सरकारमा सहभागी गराउने बचन दिइएको भएपनि अहिलेसम्म कुनै जवाफ नआएको गुनासो गरे  ।

    यसो त नेकपा संयुक्तसहित लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, अखण्ड पार्टी र समाजवादी जनता पार्टी समेत सरकारमा जान इच्छुक भए पनि कुनै छलफल हुन नपाएको बताइएको छ।।  सत्तारुढ दल र देउवाले राप्रपासहितका साना दललाई सरकारमा सहभागि गर्नेबारे ठोस जवाफ नदिँदा उनीहरुको सरकारमा सहभागि हुने चाहना तत्काललाई रोकिएको   बुझिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt