• धरानमा भरतपुरको झल्कोः एमालेलाई बोनस, फोरमलाई कट्टी (प्रमाणसहित)

    २४ धरान, काठमाडौं । दोस्रो चरणको मतगणनामा ‘भरतपुर काण्ड’ दोहोरिने डर धेरैलाई लागेको थियो । यही डरका कारण धेरैवटा मतगणनास्थलमा डोरीको बार पनि लगाइयो । तर, धरान उपमहानगरपालिकाको मतगणनास्थलमा भने झण्डै-झण्डै भरतपुरकै झल्को देखिएको छ ।

    भरतपुरमा जस्तै धरानमा मतपत्र च्यात्ने काम नभएता पनि एउटा पार्टीको मतलाई अर्कै पार्टीको सूचीमा जोड्ने काममा लागेको भेटिएपछि निर्वाचन अधिकृत र गणकहरु कारवाहीमा परेका छन् ।

    कर्मचारीले एमालेको सूचीमा भोट थपेको र संघीय फोरमको सूचीमा कम भोट जोडेर गडबडी गरेको छानविनपछि खुलेको छ ।

    भरतपुरको झल्को

    उपमहानगरपालिकाको मतगणना जारी रहेका बेला गत सोमबार एक्कासी विवाद सुरु भयो । मतगणनास्थलमा कांग्रेस र माओवादी लगायतका दलका कार्यकर्ताले नाराबाजी र विरोध गरेपछि मतगणना कार्य रोकियो ।

    वडा नं ८ र ९ को नतिजा सार्वजनिक हुनै लाग्दा विवाद भएको हो । मतगणनामा खटिएका कर्मचारीले नेकपा मालेमा परेको भोट एमालेमा जोडेको भन्दै अन्य दलले आपत्ति जनाए । करिब ५० थान मतपत्र कर्मचारीले लुकाएको भन्दै छानविन समिति गठन भयो ।

    गणनास्थलबाट एक स्थानीय सञ्चारकर्मीले दिएको जानकारी अनुसार ‘एमालेको पक्षमा मत थपिएको’ विषय कांग्रेस र माओवादीका एजेन्टहरुले वडा नं ९ र १० को मत गन्दाखेरि मात्र चाल पाए । त्यसअघिको गणनामा भने उनीहरुले त्यस्तो भएको ख्याल गरेनन् ।

    गणक कर्मचारीले एमालेको भोट बढाएको आरोपपछि केही गणकहरुलाई निष्काशन गरियो र निर्वाचन अधिकृतलाई पनि हटाएर नयाँलाई खटाइयो ।

    पुनः मतगणना गर्ने निर्णय, एमालेको आपत्ति

    यसैवीच विवादित वडा नं ९ र १० को पुनः मतगणना गराउने निर्वाचन कार्यलयले सूचना जारी गरेको छ । तर, एमाले नेता कार्यकर्ताले शनिबार साँझ सुनसरीका सिडियो र निर्वाचन अधिकृतलाई भेटेर थर्काएका छन् ।

    ‘हामीले निर्वाचन अधिकृत एवं मुख्य न्यायाधीश अर्जुन कोइराला र सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई भेटेर पुनः मतगणना गराउने कार्यको विरोध गरेका छौं,’ एमाले कार्यकर्ता भीम राईले अनलाइनखबरसँग भने- ‘प्रजिअ र निर्वाचन अधिकृतले समेत एमालेप्रति पूर्वाग्रह राखेको देखियो ।’

    तर, एमाले नेता राईले यस्तो दाबी गरे पनि छानविन समितिको प्रतिवेदनमा भने एमालेका मेयर उम्मेदवारको मत बढाइएको र संघीय फोरमका उपमेयर उम्मेदवारको मत घटाइएको पाइएको छ ।

    हेर्नुहोस् छानविन समितिको प्रतिवेदन

     

    नेपाली कांग्रेसले भने नतिजा घोषणा भइसकेका वडा नं १ देखि ८ मा समेत पुनःगणना गरिनुपर्ने माग गरेको छ । तर, नतिजा घोषणा भइसकेपछि अदालतले आदेश नदिएसम्म पुनःगणना गर्न नमिल्ने निर्वाचन आयोगका कर्मचारीले बताएका छन् ।

    वडा नम्बर ९ र १० को चाहिँ परिणाम घोषणा नभएकाले त्यहाँ पुनः मतगणना गर्ने आयोगका कर्मचारीले सूचना जारी गरेको स्रोतले बतायो ।

    शनिबार पुनः मतगणनाको सूचना जारी हुनासाथ एमालेले आपत्ति जनाएको हो । एमाले नेता भीम राईले यसबारेमा निर्वाचन अधिकृतलाई भेटेर विरोध जनाइसकेको बताउँदै अनलाइनखबरसँग भने- ‘वडा नम्बर ९ मा एमालेका रत्नबहादुर कटुवाल विजयी भएको भनेर आयोगले सूचीमा चढाइसकेको थियो, पछि नाम हटाइयो, यसमा हामीलाई आपत्ति छ ।’

    कांग्रेस र माओवादीले आरोप लगाएजस्तो कर्मचारीले अरुको मत एमालेमा नजोडेको राईले दाबी गरे । उनले भने-‘निर्वाचन आयोगका कर्मचारीले त्रुटी गरेकै हुन् । उनीहरुले साना पार्टीको मत जोड्न भुल गरेका हुन्, तर त्यो मत एमालेमा जोडिएको भन्ने सत्य होइन ।

    अहिलेसम्म कति भयो मतगणना ?

    धरान उपमहानगरपालिकामा वडा नं १ देखि ८ सम्मको मतगणना सकिएर परिणामसमेत सार्वजनिक भइसकेको छ । वडा नं १३ र १४ को पनि परिणाम आइसकेको छ ।
    अहिले वडा नं ११, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ । वडा नम्बर १८, १९ २० को पनि मतपेटिका खोल्ने तयारी भइरहेको छ । र, यससँगै ९ र १० वडाको समेत पुनः मतगणना हुने भएको छ ।

    वडा नं १२ को परिणाम आइसकेको छ, जसमा एमालेका टंक राईले जितेका छन् । वडा नं १४ मा नेपाली कांग्रेसका कृष्ण भट्टराईले जितेका छन् ।

    एमालेले वडा नं ३, ४, ६, १२ र १३ मा जितेको छ । त्यसैगरी नेपाली कांग्रेसले वडा नं १, २, ५ र १४ मा जितेको छ ।

    धरान उपमहानगरपालिकामा २० वटा वडाहरु छन् । मत गणनामा विवाद र ढिलाइ भएकाले परिणाम आउन अझै एकाध दिन कुर्नुपर्ने देखिएको छ ।

    अहिलेसम्मको गणनामा नेकपा एमालेले अग्रता लिइरहेको छ भने नेपाली कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छन् ।

    २०७४ असार २४ गते २१:२८ मा प्रकाशित

     

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt