दुई दशकको अमेरिका बसाई र मेरो उम्मेदवारी

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको टेक्सस च्याप्टरको अध्यक्षमा मैले दुई साता अघि उम्मेदवारी घोषणा गरेपछि नेपाली समुदाय तरंगीत भएको महसुस भएको छ । विशेषगरि ड्यालस, अस्टिन, ह्युस्टनमा रहनुभएका नेपाली समुदायमा मेरो उम्मेदवारीको विषयमा निकै चासो व्यक्त भएको मैले व्यक्तिगत रुपमा र मित्रजन, आफन्तहरु मार्फत महसुस गरिराखेको छु ।
मैले उम्मेदवारी किन दिनुपर्ने अवस्था आयो भन्नेतिर जानुभन्दा अघि म को हुँ भन्नेबाट प्रसंग अघि बढाउने अनुमति चाहन्छु ।
सन् १९९७ मा उच्चशिक्षा अध्ययनको योजना बुनेर नेपालको भरतपुरबाट अमेरिका आइपुगेको थिएँ म । जतिखेर नेपाली समुदाय असाध्यै पातलो थियो अमेरिकामा । अझ टेक्ससमा त निकै कम थियौँ नेपालीहरु । आजजस्तो नेपाली मन्दिर, नेपाली संघसंस्थाहरु, सहयोगी हातहरु त्यतिखेर कहाँ भेट्नु ? कहिँ शपिङका लागि पुग्दा नेपाली स्वर सुन्दा पनि आफन्तनै भेटेजस्तो हुने अवस्थाबाट गुज्रिएर यहाँसम्म आइपुगेको हुँ ।
उच्च शिक्षा अध्ययनपछि यहीँको स्थायी बसोबास अनुमति लिएर स–परिवार बस्दै आएको छु । यसबीचमा मैले अमेरिकाको नेपाली समुदाय, अझ विशेष रुपमा टेक्ससको नेपाली समुदायलाई थोरबहुत आफुले सकेको योगदान दिइराखेको छु । जुन कुरालाई धेरै नेपालीहरुले पक्कै महसुस गर्नुभएको छ ।
टेक्ससका नेपाली समुदाय (विशेषगरि ड्यालसमा रहेका) विभिन्न संघसंस्थाहरूका बिभिन्न पद र जिम्मेवारीमा रहेर मैले निभाएको भूमिकालाई धेरै आदरणीय अग्रजहरु, पछिल्लो समयमा अमेरिका आउनुभएका व्यक्तित्वहरुले मूल्यांकन गर्नुभएकै छ ।
टेक्सस र सेरोफेरोमा रहेर मैले सामुदायीक गतिविधिमा लामो समय बिताएको छु । नेपाली समुदायको सुखदुखमा मैले पनि साथ दिएको छु । अबको दिनमा एनआरएन अमेरिकाको टेक्सस च्याप्टरको नेतृत्व गरेर यो संस्थालाई नेपालीहरुको सुखदुखको सहयोगीका रुपमा अघि बढाउने योजना र स्पष्ट भिजनका साथ मैले उम्मेदवारी दिने तयारी गरिरहेको छु ।
मसँग एनआरएन टेक्सस च्याप्टरको अध्यक्षका लागि स्पष्ट योजनाहरु छन् । जस्तो कि, बालबालिकाहरुका लागि शीप विकास, नेतृत्व विकास, खेलकुद, वक्तृत्वकला, क्विज, स्पेलिङ टेस्ट लगायतका गतिविधिहरु हाम्रो समुदायले खोजीरहेका क्षेत्रहरु हुन् ।
एनआरएनले हेर्ने भनेको यहीँको नेपाली समुदायका लागि हो । यहाँबाट समय र स्रोत साधन निकालेर मातृभूमिका लागि पनि हामीले गर्नु र हेर्नुपर्छ । तर यही जबसम्म यहीँ बस्नेहरु सक्षम हुँदैनौ मातृभूमिका लागि कुनै योगदान दिन सक्ने अवस्था रहँदैन । त्यसोहुँदा युवाहरु, व्यबसायीक गतिविधिमा संलग्नहरुलाई समेत सहभागी गराएर एनआरएनले गर्नुपर्ने र गर्नसक्ने थुप्रै क्षेत्रहरु मैले देखिरहेको छु ।
टेक्सस अहिले एनआरएन अमेरिकाको सबैभन्दा ठूलो सदस्य संख्या भएको ठाउँ पनि हो । यदी हामीले सदस्यहरुको चाहना, अपेक्षालाई थोरैमात्र संवोधन गर्न सकेको खण्डमा, सदस्यहरुको आवश्यकतालाई पुरा गर्न सकेको अवस्थामा मात्र हामी सफल हुनेछौँ । नत्र अर्को पटक सदस्यता नवीकरण गर्ने बेलामा फेरि आक्रोश जन्मिन पनि बेर लाग्दैछ ।
यसपटक सदस्यता भेरिफिकेसनका नाममा भएका ढिलासुस्तीले गर्दा आम सदस्यहरुमा  एनआरएनप्रति सकारात्मक छाप बन्न सकेको छैन । हामीले एनआरएनको नेतृत्वमा गएर गर्नुपर्ने भनेको संस्थाको छापलाई सुधारनै प्रमुख रुपमा अघि सरेको छ । यसका साथै यहाँ यहाँका नेपाली समुदायको वृत्ति विकासका अवसरदेखि लिएर नवआगन्तुक नेपालीहरुलाई सहयोग, विद्यार्थीहरुलाई सहयोग गर्नेतिर पनि हाम्रो योजना जानुपर्छ ।
मैले आपूmले पदमा बस्नका लागि मात्र उम्मेदवारी दिने योजना बनाएको कदापी होइन । मसँग रहेको सानोतिनो क्षमतालाई नेपाली समुदायलाई कसरी दिने भन्ने स्पष्ट योजना लिएर म अघि बढेको हुँ । सबै संस्था आफैँमा नराम्रा पनि हुँदैनन्, सक्षम नेतृत्वकर्ताको हातमा पुग्यो भने संस्था बलियो र सक्षम पनि हुन्छ र सदस्यहरुको भावना अनुरुप काम पनि हुनसक्छ । तर गलतको हातमा प¥यो भने राम्रो चिजले पनि नराम्रो गलत नतिजा दिनसक्छ ।
एनआरएनलाई बलियो र सक्षम अनि नेपाली समुदायकै हितका खातिर अघि बढाउन सबै सदस्यहरुले अब गंभिर हुनैपर्छ । भोटको राजनीति भन्दा समुदायका लागि काम गर्नेलाई चयन गर्नसक्यौँ भनेमात्र हामी नेपालीले अमेरिकामा गर्व गर्ने अवसर मिल्छ ।
मसँग भएका एजेण्डाहरुलाई केही दिनमै सार्वजनिक गर्नेछु । ठूलो कुरा र सपना नदेखाई सानो तर प्रभावकारी काम यतिखेर हामी सबै एनआरएनहरुले गरेको अपेक्षा हो । जसलाई मैले मिहिन रुपमा बुझेको छु । मेरो दुई दशकको अमेरिका बसाईले हाम्रो समुदायका लागि के आवश्यक छ भन्ने मैले थोरैमात्र भएपनि जान्ने अवसर पाएको हुनाले त्यसलाई कार्यान्वयन गर्नका लागि टेक्सस च्याप्टरको अध्यक्षमा अघि बढ्ने योजनामा छु ।
नेतृत्व लिएपछि आफ्नो योजना अनुरुप काम गर्न सहज पनि हुने भएको हुनाले च्याप्टर अध्यक्षमा मैले उम्मेदवारीको निर्णय लिएको हुँ । मसँग दुई वर्षको स्पष्ट योजना र खाकाहरु छन् । जसलाई म केही दिनमै सार्वजनिक गर्नेछु ।
सन् १९९७ मा म अमेरिका आउँदा यहाँ नेपालीहरु थोरै थियौँ । भौगोलिक रुपमा छरिएका थियौँ । एकतावध्द हुन सकेका थिएनौ । अहिलेको अवस्था आइपुग्न झण्डै एक दशक लाग्यो । अहिले हामी टेक्ससको हरेक शहरमा छौँ नेपालीहरु । ठूलो संख्या छ नेपालीहरुको । ड्यालस, अस्टिन, ह्युस्टन, सान एन्टेनियो, लबक लगायत सबै सानाठूला शहरमा नेपाली छौँ । ठूलो संख्यामा छौँ हामी । तर, संख्यात्मक रुपमा ठूलो भएपनि हामीबीच फाटो र वैमनस्यता, विभाजन बढ्दै गएको हो कि भन्ने आभाष मिलिरहेको छ ।
तपाई हामी सबैलाई एकतावध्द बनाउन पनि एनआरएनको फोरमलाई परिचालन गर्नुपर्ने, सकृय गराउनुपर्ने खाँचो छ ।
राजनीतिक विचारधारा, आस्थाबाट माथि उठेर नेपाली समुदायको हितका लागि आफू समर्पित हुनेछु । किनकी, मलाई यहाँ नेपालको कुनै दल विशेषको झण्डा हल्लाएर, समर्थन गरेर भन्दा नेपाली समुदायकै हितका लागि काम गर्न बढ्ता आनन्द लाग्छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार