एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेद्वार गौरीराज जोशीको अपिल

अमेरिकामा रहनुभएका आदरणीय गैर आवासीय नेपाली समुदायहरू

अनिश्चयता र ढिलासुस्तीलाई अन्त्य गर्दै अब एनआरएन अमेरिका पूर्ण रूपमा चुनावी माहौलमा प्रवेश गरेको छ । निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी मनोयन दर्तासंगै आफ्नो उम्मेदवारीका सम्बन्धमा केही बिचार समेत राख्न आग्रह गरेकाले मेरो सानो लिखित भनाई राख्ने अनुमति चाहन्छु ।

नेपालको लमजुगं जिल्लामा जन्मेर प्रारम्भिक विद्यार्थी जीवन चितवनमा विताएको थिएँ । लमजुगंवाट बसाईसराईसंगै हाम्रो परिवार चितवन रत्ननगर नगरपालिकामा स्थायी रूपमा बसोवार गरेका थियौँ । सन् १९९७ मा म उच्चशिक्षा अध्ययनका लागि अमेरिका आएको हुँ । अमेरिकामा शुरुवाती चरणमा मैलेपनि धेरै दुख्ख र हण्डरहरु भोगें । अमेरिका लगायत प्रवासमा बस्ने सबै नेपालीका जस्तै मेरा पनि उस्तै कथा व्यथा छन् । मसँग विद्यार्थी हुदांका पिडाका अनुभव पनि छ । प्रवासमा संघर्षका शुरुआती दिनहरुका भोगाईहरुपनि छन् । विद्यार्थी लगायत कति संघर्षका चरण रहनु भएका नेपालीहरूलाई देख्दा मलाई यही मेरो विगत सम्झना आउँछ । संघर्षका चरणमा वा दुख्ख पर्दा सानो सहयोगपनि लाख हुन्छ । यो मैले बुझेको छु ।

म सँग अमेरिकामा काम गर्दाको अनुभव पनि छ । लामो समय मैले अमेरिकाका विभिन्न कम्पनीहरुमा काम गरेँ । अनि जीवनमा केही गर्नुपर्छ भन्ने लागेर व्यवसायमा हात हालेंको हुँ । म एकै पटक यहाँ आईपुगेको होइन, अमेरिकी भूमिमा जसरी अरू धेरै नेपालीले दुख्ख कष्ट गर्नु भएको छ, मैलेपनि त्यसै गरी पसिना बगाएको छु ।

लामो अमेरिका बसाई, यहाको नेपाली समुदायको म प्रतिको सद्धभाव र शूभेच्छाले गर्दा एनआरएन अमेरिकाको अध्यक्षको उम्मेदवारी दर्ता गरेको छु । निर्वाचन समय भन्दा ढिला भयो, विवाद आए । यसले अन्तत संस्थालाई हानी गर्‍यो । तर, पनि अहिले एनआरएन अमेरिकाको निर्वाचनमा सहभागी हुन पाउँदा निकै खुशी लागेको छ ।मातृभूमि सबैका लागि प्यारो हुन्छ, कसले धेरै माया गर्ने कसले कम गर्ने भन्ने होइन ।

हामी प्रवासमा वस्नेको चाहना आफ्नो मातृभूमिलाई केही गरौँ, केही दिन सकौं भन्ने हुन्छ नै । एनआरएन अभियानको शुरुआत पनि यही उद्देश्यले भएको हो । नेपाली नागरिकताको निरन्तरता हाम्रो शूरु देखिकै माग हो । तर, हामीले नागरिकताको निरन्तरतासंगै हामी पनि नेपालमा केही गर्छौ भनिरहेका छौँ । गरिरहेका छौँ । एनआरएनवाट अरर्बौको लगानी नेपालमा भइसकेको छ । नागरिकताको सवालमा पनि केही उपलब्धि भएको छ ।

यसबाहेक अमेरिका बस्ने नेपालीका लागि एनआरएन अमेरिका हुनपर्छ । अहिले मेरो एजेण्डा यही हो । यहाँ बस्ने नेपालीका लागि एनआरएन अमेरिका आवश्यक पर्दाको सहयोगी संस्था बन्नु पर्छ । यो मैले मात्र भनिरहेको होइन । म अमेरिकाको जहाँ पुगें त्यहाँ बस्ने अधिकांश नेपाली समुदायको माग पनि यही हो । यसैले यसलाई मेलै आफ्नो एजेण्डा बनाएको हुँ ।

एनआरएन अगुवाहरुको मेहिनेत र सबै नेपालीहरूको साथका कारणले नेपाल सरकारमा आधिकारिक रूपमा दर्ता भएका अगाडी बढेको एनआरएनए आज नेपाल बाहिर रहेका र नेपाल भित्रका नेपालीबीच पुलका रूपमा काम गर्ने संस्थाको रूपमा मात्र नभई स्वदेश वा विदेशमा रहने सबैलाई एक बलियो आधार मान्न सकिने संस्थाको रूपमा विकसित भएको छ । केही समय पछि अमेरिकामा प्रवेश गरेको एनआरएन अभियान अहिले आएर सदस्यताका हिसाबले विश्वकै सबैभन्दा ठुलो एनआरएन मध्येमा पर्छ । यो हामी सबैको सकृयताले सम्भव भएको हो । शुरुआती समय अर्थात् सन् २००७ देखि २००९ सम्मको कार्यकालमा मैले एक जिम्मेवार पदाधिकारीको रूपमा एनआरएन अमेरिकामा काम गर्ने अवसर पाएको थिएँ ।

त्यस समयको एनआरएन अभियान्तको हिसाबले भन्नु पर्दा हामीले अबको केही समय भित्र आईसीसीको निर्णायक तहमा एनआरएन अमेरिकालाई लैजान सक्छौँ भन्नेमा विश्वास लिएको छु । विश्वमा रहेकाका नेपाली माझ हामीले यहाँ एकता देखाई नेतृत्वदायी भूमिका निभाउनु पर्ने जिम्मेवारीपनि छ ।

स्थापनाका केही वर्षसम्म एनआरएन अमेरिका सीमित घेरामा रहेर चलेको थियो । तरपनि तत्कालीन अध्यक्ष शिबकुमार राईजीको समयमा एनआरएन आम रूपमा अगाडी आयो । यसपछि पछि यसको चासो र महत्त्व आम समुदायमा बढेको हो । पूर्व अध्यक्ष खगेन्द्र क्षेत्रीजीको छोटो कार्यकालमा एनआरएनको सदस्यतामा व्यापक विस्तार भयो । त्यस यता यो संस्था प्रति विश्वास वढिरहेको छ । तर, पनि यहाँ हामी जत्ति नेपाली छौँ यस हिसाबले अहिलेभएको सदस्य संख्या पनि निकै कम हो । यसलाई अझ बढाउनु पर्छ । हामीले राम्रो र समुदायको हितमा काम गर्दै जाँदा यो बढ्छ भन्ने मलाई पूर्ण विश्वास छ ।

म आफू पनि सपनाको देश अमेरिकामा अध्यनका लागि आएको थिएँ । त्यसैले मलाई थाहा छ, आज यहाँ विद्यार्थी, बिभिन पेशा र व्यवसायमा स्थापित भएका नेपालीहरू र नवआगन्तुक नेपालीहरू गरी तीन तहमा बाडिएका नेपालीहरूको आवश्यकता र चाहनालाई एनआरएनको अब आउने नेतृत्वले सम्बोधन गर्नुपर्ने अवस्था छ ।

मैले आफ्नो अध्ययन पुरा गरिसेक पश्चात् म आफू रहेको राज्य टेक्सासको डल्लासलाई आधार क्षेत्र बनाएर मेरो जागिर र व्यवसायमा सकृय रहेको छु । मैले यहाँ रहेर सदैव सामाजिक कार्यमा सकृया रहेको पनि जानकारी गराउन चाहन्छु । स्थानीय लायन्स क्लब र नेपाली समाज टेक्सस जस्ता सामाजिक संस्थाको अध्यक्षको रूपमा जिम्मेवारी लिँदा होस् या कुनै पनि पद बिना यहाँका विभिन्न सामाजिक कार्य र नेपालमा समेत आर्थिक तथा सामाजिक रूपमा सहयोगी बन्दै आएको प्रशस्तै उदाहरण छन् ।

समाजिक क्षेत्रमा पनि मेरो संलग्नता छ । आमा फाउण्डेशन मार्फत मैले नेपालमा स्कुल पुर्ननिमार्ण धार्मिक, साहित्य, तथा सांस्कृत्तिक स्थलको संरक्षणमा सहयोग गरेको छु । पछाडि परेको चेपागं जातीका लागि पनि मेरो सहयोग छ ।

यति बेला एनआरएन अमेरिकाको नयाँ नेतृत्व चयनको प्रकृयासँगै किन एनआरएनको सदस्यता लिने र कुन वर्ग वा समूहले मात्र लिने भन्ने विषय आम समुदायमा बहस विषय बनेकोले मैले आफूलाई एनआरएन अमेरिका सबैको आकर्षणको संस्था बनाउने मुख्य उदेश्यसाथ आफूलाई अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

हामी अमेरिकामा रहेका नेपालीहरूको साथ दिने र साझा आवाज बोक्ने संस्था बन्नु पर्ने छ । संसारभरका एनआरएनहरुको नेतृत्व गर्दै मातृभूमिमा पनि टेवा दिनु पर्ने दुई फरक खालका दायित्व अब आउने नेतृत्व सामु छ । त्यसैले मैले निम्न मुख्य एजेण्डाहरु लिएर अध्यक्ष पदमा आफूलाई अगाडि ल्याएको हुँ ।

अबको एनआरएन हाम्रो र राम्रो एनआरएन
-आशालाग्दो एनआरएन अमेरिका बनाउन,
-अमेरिकाको नेपाली समुदयालाई बलियो बनाउँदै मातृभूमिमा सहयोग गर्न,
-युवाहरूलाई रोजगारको असल मार्गमा लैजान,
-साझा एनसीसी बनाएर आईसीसीमा नेतृत्वदायी भूमिका खेल्न,
-मातृभूमिको पर्यटन तथा सक्षम जनशक्तिमार्फत सहयोग गर्न ।

मैले यी लगाएतका महत्त्वपूर्ण एजेण्डाहरु लिएर अगाडि बढेको छु । मैले आफूलाई सामाजिक तथा व्यावसायिक रूपमा सफल व्यक्तिको रूपमा प्रमाणित गरिसकेको हुँदा यस निर्वाचनबाट अध्यक्षको जिम्मेवारी लिएर एनआरएन अमेरिकालाई आशा लाग्दो र भरपर्दो संस्था बनाउन चाहेको प्रतिवध्ताता समेत जनाउँछु । अमेरिकामा रहनुभएका सबै मतदाताहरु समक्ष मलाई एक पटक मौका दिन आग्रह गर्दछु ।

धन्यवाद सहित !
गौरी जोशी
एनआरएन अमेरिका अध्यक्ष उम्मेदवार
ड्यालस, टेक्सास ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार