• महिला सहकारीलाई भरतपुर महानगरको कम्प्युटर सहयोग

    भरतपुर/भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ को कार्यक्रम अन्तरगत महानगरपालिका भित्र सञ्चालीत महिला सहकारीलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले मंगलबार महानगर भित्रका सात वटा सहकारी संस्थालाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गर्नुभएको हो । महिला सहकारीहरुको क्षमता अभिवृद्धिमा टेवा पुगोस् भन्ने उद्देश्यले कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको नगर प्रमुख दाहालले बताउनुभयो । महानगरपालिकामा नगर प्रमुख तथा उपप्रमुख दुवै जना महिला भएकाले महिलाहरुको जीवनस्तर उकास्न तथा रोजगारी सिर्जना गर्न आफूहरु सधैँ तत्पर रहेको दाहालको भनाइ छ ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महिला सहकारीहरुको सेवा अन्यको भन्दा गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो । सहकारीले गर्ने सबै कारोबार विद्युतीय हुनुपर्नेमा जोड दिँदै जोशीले कम्प्युटर तथा प्रिन्टरका माध्यमबाट सहकारीको क्षमता समेत अभिवृद्धि हुने बताउनुभयो । महिलाहरुले सञ्चालन गरेको सहकारी उदाहरणीय हुनुपर्ने भन्दै जोशीले मंगलबार प्रदान गरिएको कम्प्युटरले सहकारीको कामलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
    कम्प्युटर तथा प्रिन्टरका लागि आवेदन परेका सबै महिला सहकारी संस्थाहरुलाई सामग्री प्रदान गरिएको भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका सहकारी अधिकृत रामबाबु पौडेलले बताउनुभयो । सहकारी संस्थाहरुलाई नाइन्थ जेनेरेशनको ब्राण्डेड कम्प्युटर तथा फोटोकपी, प्रिन्ट र स्क्यान गर्न मिल्ने प्रिन्टर प्रदान गरिएको पौडेलको भनाइ छ । ती सामग्रीको लागि भरतपुर महानगरपालिकाको ७५ प्रतिशत तथा महिला सहकारी संस्थाको २५ प्रतिशत लगानी रहेको पौडेलले जानकारी दिनुभयो ।
    भरतपुर २७ को शिवालय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर २१ को पञ्चज्योति महिला बचत तथा ऋण संस्था लिमिटेड, भरतपुर १५ को फूलबारी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, भरतपुर २५ को अमृत महिला बचत तथा ऋण संस्था लिमिटेड, भरतपुर २६ को दिव्यनगर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, भरतपुर २६ को शान्ति महिला बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड र भरतपुर १८ को उन्नती महिला विकास सहकारी संस्था लिमिटेडलाई महानगरपालिकाको तीन लाख ५० हजार रुपैयाँ अनुदानमा कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको सहकारी अधिकृत पौडेलले बताउनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt