उवासंघ चितवनको आपत्ति

भरतपुर/उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले नेपाल राष्ट्रबैंकले मौद्रिक नीति लागू गरिसके पश्चात पनि कतिपय बैंक तथा वित्तीय संस्थाहरुले ऋणी व्यवसायीको घर दैलोमा नै पुगी वक्यौता रकम असुल गर्ने गरेकोमा आपत्ति जनाउनु भएको छ । उद्योग वाणिज्य संघ–चितवनले बुधबार भरतपुर स्थित विभिन्न बैंकहरुका शाखा प्रबन्धकसँग गरेको छलफल कार्यक्रममा उहाँले यस्तो आपत्ति जनाउनु भएको हो ।
उहाँले भन्नु भयो, ‘बैँकले नविकरण शुल्क असुल गर्नेलगायत व्यवसायीलाई मानसिक तनाव दिने जस्ता कार्य गरेको पाइएकोले यस्तो कार्य तत्काल रोक्नुपर्छ ।’ कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोनाका कारण मुख्य गरी पयर्टन, कृषि तथा सेवामूलक व्यवसायीहरु मारमा परेकोले बैंकहरुले हदै सम्मको लचकता अपनाई व्यवसाय मात्र होइन मानवीय सेवा भाव पनि प्रदर्शन गर्नुपर्ने बताउनु भयो । सोही कार्यक्रममा सहभागीहरुले कतिपय कुराहरु आ–आफ्नो बैंकको नीतिगत व्यवस्थाका कारण पनि नचाहँदा नचाहँदै पनि गर्नुपरेको बताएका थिए । कार्यक्रममा सहभागीहरुले चितवनमा देखिएको बैंक र व्यवसायीको समस्या समाधान गर्नका लागि आफू तत्पर रहेको र सोको बारेमा उपल्लो निकायमा जानकारी गराउने बताएका थिए ।
सोही कार्यक्रममा सहभागीहरुले हाल कोरोना संक्रमण दिनानुनिद बढ्दै गइरहेकोले बैंकमा सेवाग्राहीको समेत भीडभाड रहने हुँदा बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण हुन सक्ने भएकोले बैंकका कर्मचारीको कोरोना परीक्षण हुने व्यवस्थाका लागि उद्योग वाणिज्य संघ–चितवनलाई सम्बन्धित निकायमा पहल गरिदिन अनुरोध गरेका थिए । बैंकका कतिपय क्रियाकलापलहरु समय सान्दर्भिक नभएकोले गर्दा व्यवसायीहरु हतोत्साहित हुनेगरेको जानकारी संघलाई प्राप्त भएकोले छलफल कार्यक्रमको आयोजना गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर स्थित विभिन्न बैंकका शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार