• मेरो गाउँ गोरखा एक झलक


    हरिदत्त देवकोटा
    पालुङ्टार ३, गोरखा (हाल चितवन)

    १) क्या राम्रो गोरखा लिगलिगकोट नाच्दछ शिरैमा
    देवकोटा थर हरिदत्त नाम त्यो गाउँघरैमा ।
    पण्डित गाउँ देवकोटा थर गौरव हाम्रो छ
    जयन्ति देवी त्यो पण्डित गाउँ बिद्धानको खानी छ ।

    २) बिद्धान भए देवकोटाहरु जयन्ति देविले
    आर्शिवाद पाई विश्वमा चम्के विद्याको ज्योतिले ।
    मन्त्री र डाक्टर पण्डित भए शिक्षा छ अपार
    डाँडा र काँडा हावा र पानी प्रकृति हजार ।

    ३) त्यो ठाउँ रम्छ खुसि भै अनि मन्त्री र डाक्टरले
    पण्डित ज्ञानी बिद्धान विक्रम तेजस्वी हुनाले ।
    अमृत जल त्यो भन्दा राम्रो पाईन्छ कहाँ र
    त्यो हावा पानी शितल मिठो बासना हरर ।

    ४) मनैलाई खिच्ने त्यो सुन्दर गाउँ गोधुली साँझमा
    गाउँ र वेसी हरिया पहाड हिमाली छायाँमा ।
    प्रकृति राम्रो मिलेको ठाउँ भन्ज्याङ देउराली
    तितरी पन्छि क्वेलि र न्याउलि खेल्दछिन् बनभरी ।

    ५) नागवेली खोला बग्दछिन् रातमा कल कल गरेर
    त्यो चिसो हावा सरर बग्छ अमृत छरेर ।
    गाई र भैसी वाँधेको घर गोरस पवित्र
    लालि र गुँरास भैचम्पा फूल क्या राम्रो सचित्र ।

    ६) न्याउली चरि बीलौना गर्दै स्वर मिलाई रातमा
    कुखुरा बास्छ विहानी पख घडीको डाकमा ।
    उज्यालो भयो बिहानीपख चिरबीर भाकामा
    सुसेली हाली त्यो चिबेचरी घुम्दछे पाखामा ।

    ७) त्यो मेरो गाउँ त्यो मेरो ठाउँ विद्धानको वासले
    स्वर्गको एक टुक्रा झै लाग्यो प्रकृती खासले ।
    ऐसेलु काफल चुत्रो नै फल्थे बन र पाखामा
    त्यो लालुपाते फुल्दछ फेरी डाँडाको शिरैमा ।

    ८) अर्म र पर्म त्यो मेलापाता हाम्रो त्यो पहिचान
    घैया र मकै फापर र कोदो झुल्दथे बगान ।
    सकेर बस्छन् थकाई मारि डिल र चौतारी
    संगित ध्वनी गाउँथे मिठो मिलेर दौंतरी ।

    ९) घरमा आई घरधन्दा गर्छन दुःख र सुखको
    मसिनो गुन्द्रि परालको बुनि अछ्याउँछन् ल्याएर ।
    ढिडो र रोटी जो पाक्छ घरमा मिष्ठन्न मानेर
    कुपुक्क खायो घुप्लुक्क सुत्यो निन्द्रामा परेर ।

    १०) त्यो लालिपन क्षितिजमा छायो अन्धकार हटाई
    डोको र नाम्लो पिठ्युमा धरी त्यो गाग्री समाई ।
    पुरानो ठाउँ क्या राम्रो लाग्छ स्वर्गकै कानन
    यै पुन्ज उठी नेपाल ढाक्यो प्रताप फैलन ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt