• वेपत्ता पारिएका व्यक्तीहरुको छानविन आयोगका प्रवक्तासंग छलफल


    भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितवनको आयोजनामा बेपत्ता पारिएका व्यक्तीहरुको छानविन आयोगका प्रवक्तासंग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति सम्भु राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका सदस्य एवं प्रवक्ता डा. गंगाधर अधिकारीले आयोगका गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो ।
    प्रवक्ता अधिकारीले चितवनबाट परेका ५२ वटा उजुरीहरुको छानविन गरिरहेको जानकारी दिँदै उहाँले केही हप्तामै परिचय पत्र समेत वितरण गर्ने तयारी भएको जानकारी दिनुभयो । उजुरी परेकामध्ये केहीले परिचय पत्र पाइसक्नु भएको बताउँदै अन्यको पनि छानविन प्रकृया अन्तिम चरणमा पुगेको उहाँको भनाई थियो । द्वन्द्वका घाउ, पीडा र विछोडलाई मलम लगाउन आयोग गठन भएपनि प्रभावकारी काम हुन नसकेको स्वीकार गर्दै डा. अधिकारीले आयोगसँग सिफारिस गर्ने अधिकार मात्रै भएकाले समस्या भएको बताउनुभयो ।
    पीडितलाई क्षतिपूर्ति दिन सिफारिस गरेपनि गृह, अर्थ लगायतका मन्त्रालयमा फाइल अड्किने हुँदा पीडित थप आक्रोशित र अन्ययामा परिरहेको उहाँको भनाई थियो । परिचय पत्र दिएपछि अन्तरिम राहत १० लाख रुपैया उपलब्ध गराउने अहिलेको नियम छ । तर उक्त क्षतिपूर्ति समयमै उपलब्ध गराउन पटक पटक भनेपनि प्रकृयागत झन्जटले थप समस्या भएको बताउनुभयो । आयोगमा हालसम्म ३ हजार २४३ वटा उजुरी परेका छन् । डा. अधिकारीका अनुसार ३२ जना भेट्टाएर पनि परिवारको जिम्मा लगाइएको छ भने २ हजार ४ सय ९७ वटा उजुरीको विस्तृत अनुसन्धान जारी रहेका छन् । ती मध्ये १२ सय २७ जनाले भने अन्तरिम राहत स्वरुप १० लाख रुपैया पाएका छन् । कार्यक्रममा मानवअधिकारकर्मीहरु राजेन्द्र पौडेल, विश्व वास्तोला, विनोदखण्ड तिमिल्सिना, विश्व ओझा, शान्ता अधिकारी, संगिता भट्टराई लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt