बालकृष्ण खनाल
आँगन भरि सयपत्री र मखमली फूले
फूलसँगै संझनाका ती पाना पनि खुले ।
टालाटुली, भाँडाकुटी बालापनका खेलहरू
जित्नलाई गरेका ती मिठा मिठा झेलहरू ।
एकएक गरि मनका तरेलीमा उनिएर आए
सम्झीसम्झी रोयो मन आँखा सुनिएर आए ।
उनी दुखी हुँदा सँगै रून्थे हाँस्दा सँगै हाँस्थे
सजाउँला कुनै दिन पुतली झैँ भन्ने रहर साँच्थेँ ।
उमेर छँदै अनायासै भगवानकी भएर गईन
मनका ईच्छा मनमै मर्दा आँखा हुन्छ मईन ।
अधुरो लाग्छ भाईटिका उनी विना जैले
बोलाउँछिन कि तगराबाट लाग्छ मलाई कैले ।
मनमा सँधै ताजै छ्यौ तिमी जाँहाँ भए पनि
याद मात्रै यता छोडी तिमी पर गए पनि ।।