• भरतपुर महानगर प्रमुख रेनु दाहाल र कतारी राजदुतबीच भेटवार्ता, द्विपक्षीय हितको विषयमा छलफल


    भरतपुर/भरतपुर महानगर प्रमुख रेनु दाहाल र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलबीच सोमबार शिष्टचार भेटवार्ता भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो । राजदुत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदुत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानहरूलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए । उनले चितवन आएर स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको बताए ।
    भेटका क्रममा नेपाल र कतारबीच आपसीसम्बन्ध कायम भएसँगै दुई देशबीच दुई पक्षीय सहयोग आदानप्रदान भइरहेको बताइएको छ । राजदुत मोहम्मदले नेपाल प्रकृतिको सुन्दर मुलुक रहेको भन्दै पर्यटन प्रवद्र्धनमार्फत नेपालले लाभ लिन सक्ने बताए । दुई देशका नागरिकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउन आफू लागिपर्ने राजदुत मोहम्मदको भनाइ थियो । कतारमा रहेका नेपाली कामदारको सुरक्षा र रोजगारीमा कतार सरकारले विशेष चासो राखेको उनको भनाइ थियो ।
    कतारमा ५ लाख बढी नेपालीहरू विभिन्न क्षेत्रमा रोजगार तथा पछिल्ला दिनहरूमा कतारमा लगानीसमेत गरी व्यापार व्यवसाय गरिरहेका छन् । महानगर प्रमुख दाहालले कृषि तथा पशुविज्ञान विश्वविद्यालयसँग प्रविधि आदान प्रदाननका लागि दुई पक्षीय सम्झौता सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै यसबाट कृषि र प्रविधिको क्षेत्रमा गरिने अध्ययन र अनुसन्धानले दुई देशको कृषि प्रणालीमा आधुनिकिकरण गर्न थप सहयोग पुग्ने बताइन् । राजदुत मोहम्मदलाई महानगर प्रमुख दाहालले स्वागत गर्दै कतारले लोभलाग्दो विकास गरेको बताइन् ।
    कतारका बिकासका असल अभ्यासहरू अनुशरण गर्न भरतपुर महानगरपालिका आतुर रहेको समेत प्रमुख दाहालको भनाइ थियो । प्रमुख दाहालले भरतपुर महानगरमा बनिरहेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण पूरा गर्न कतार सरकारसँग सहकार्यको अपेक्षा गरेकी थिइन् । प्रमुख दाहालले भरतपुर महानगरपालिका कतारका जुनकुनै सहरसँग भगिनी सम्बन्ध कायम गरी नागरिक स्तरमा दुई देशबीच सहयोग आदानप्रदान र आपसी हितका क्षेत्रमा काम गर्न इच्छुक रहेको समेत राजदुत महमदलाई जानकारी गराइन् । भेटघाट कार्यक्रममा भरतपुरमहानगरपालिकाका प्रमुख रामबन्दु सुवेदी, आर्थिक प्रशासन प्रमुख जगन्नाथ अर्याललगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt