• सफलताको शिखर चुम्दै बालकुमारी कलेज


    जगदीश्वर खनाल
    शिक्षा समाजको दर्पण हो, चेतनाको पुञ्ज हो । शिक्षाले नै सामाजिक अवस्थाको दिग्दर्शन गराउँछ । समाजको रीतिथिति, जीवनशैली आदिलाई शिक्षाले नै प्रतिबिम्बित गरेको हुन्छ । शिक्षा सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक र सांस्कृतिक अवस्थाको द्योतक पनि हो । तसर्थ व्यक्ति, समाज र राष्ट्रको विकासको मूल आधार पनि शिक्षा नै हो । शिक्षाको महत्व र अपरिहार्यतालाई हृदयङ्गम गरी चितवनको मध्यभाग, व्यापारिक केन्द्र, ऋषिमुनिहरुको साधना र ज्ञानले अभिसिञ्चित यस पवित्र ज्ञानभूमि नारायणगढ बजारको केन्द्रबिन्दुमा विसं २०४३ सालमा यस बालकुमारी कलेजको स्थापना भएको हो । छिमेकी जिल्लाहरुको प्रमुख व्यापारिक शैक्षिक केन्द्रका रुपमा रहेको चितवन सबैको गन्तव्यस्थल बनेको थियो । चितवन जिल्लामा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको चाप बढ्दै गएपछि उक्त शैक्षिक आवश्यकतालाई परिपूर्ति गर्न स्थानीय उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, संघसंस्थाहरु, चन्दादाता, प्राध्यापक, कर्मचारी, विद्यार्थीहरु आदि धेरै उदारमना व्यक्तित्वहरुको चाहना, भावना र सक्रियताको फलस्वरुप युगानुकूल शैक्षिक चाहना पूरा गर्नका लागि यस बालकुमारी कलेजको स्थापना भएको हो ।

    बालकुमारी देवीको नामबाट नामकरण गरी स्थापना गरिएको यस सामुदायिक (पब्लिक) कलेजलाई स्थानीय भरतपुर र नारायणगढबासी उदारमना शिक्षापे्रमी व्यक्तिहरुको विशिष्ट आर्थिक सहयोग प्राप्त भएको थियो । उक्त सहयोगबाट सुरूमा बालकुमारी माविमा अध्ययन अध्यापन सुरूवात भई बिस्तारै कलेजको भवन निर्माण गरी आफ्नै भवनमा पठनपाठन हँुदै आएको छ । स्थापनाकालमा प्रमाणपत्र तह कानुन र व्यवस्थापन (आई.कम, आई.ए र आई.एल) सङ्कायअन्तर्गतका विषयहरुको पठनपाठन गराइए पनि तत्पश्चात् स्नातक तहसम्मको व्यवस्थापन सङ्काय र शिक्षा सङ्कायअन्तर्गतका विषयहरुको पठनपाठन गराउँदै आउनुका साथै हाल स्नातकोत्तर एमबिएस र एमबिए तहसम्मको शिक्षा प्रदान गर्दै आएको र यस कलेज आइएसओ र दोस्रो चरणको क्युएए प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो शैक्षिक पहिचान विस्तार गरी आफूलाई स्थापित गराउन सफल भएको यथार्थता सर्वविदितै छ ।
    स्थानीय जनसहभागिताबाट स्थापित र सञ्चालित मुनाफारहित यस कलेजले नेपालका विभिन्न क्षेत्रका ज्ञान पिपासुहरुलाई ज्ञान र चेतनाले आलोकित पार्दै आएको छ । वर्तमान समयमा यस कलेजमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वार्षिक प्रणालीअन्तर्गत (४ वर्षे) सञ्चालित कार्यक्रमहरुमा बिबिएस, बिएड, बिएस्सी (इन्भायरोमेन्ट, माइक्रोबायोलोजी) सङ्कायअन्तर्गतका विषयहरु सञ्चालनमा छन् । सेमेस्टर प्रणालीअन्र्तगत (४ सेमेस्टरमा) सञ्चालित कार्यक्रमहरुमा एमबिएस, एमबिए, एमएड, बिआइसिटिई, बिएचएम, बिआइएम, बिबिए आदि रहेका छन् । यसैगरी, भरतपुर महानगरपालिका वडा नं–३ नगरवनमा सिटिइभिटीद्वारा सम्बन्धन प्राप्त कार्यक्रमहरु स्टाफ नर्सका कक्षाहरु जनस्वास्थ्य भवनमा सञ्चालित हुनुका साथै एचएमा एलओआई प्राप्त गरी कार्य अगाडि बढिरहेको छ भने पूर्वाञ्चल विश्वविद्यालयअन्र्तगत सम्बन्धन प्राप्त बालकुमारी क्याम्पसमा बिबिए कक्षा सञ्चालनमा रहेको छ ।
    मानवजीवनमा धेरै किसिमका सम्पन्नताहरु रहेका छन्, तीमध्ये विद्यारुपी सम्पन्नताजस्तो अरु केही पनि छैन । विद्याले विनयी, पात्रता, सम्पन्नता, धर्म र धारणा प्रदान गर्दछ । विद्याको सर्वोपरि महत्तालाई आत्मसात् गरी सोहीअनुरुप कलेजको पाठ्यपुस्तकको ज्ञानार्जन गर्ने थलो मात्र होइन जीवनोपयोगी, व्यवहारोपयोगी शारीरिक एवं मनोवैज्ञानिक ज्ञान दिने थलो पनि हो भन्ने भावना जागृत गराउन हामी प्रयत्नरत छौँ । संख्यात्मकभन्दा पनि गुणात्मक शिक्षा आजको अपरिहार्यता हो भन्ने भावनालाई सफल, सार्थक र सफलीभूत बनाउन कलेजसम्बद्ध पक्षहरु कट्टिबद्ध छौँ ।
    गुणस्तरीय शिक्षा र व्यवहारोपयोगी, जीवनोपयोगी आजको शिक्षा आजको आवश्यकता भन्ने मूल उद्देश्यअनुरुप युगीन चाहना र भावनालाई आत्मसात् गरी हामी अगाडि बढेका छौँ । यस क्रममा २०६९ सालमा विश्वविद्यालय अनुदान आयोगबाट पहिलोपटक क्युएए प्राप्त गर्न सफल भएको थियो भने २०७५ सालमा दोस्रोपटक क्युएए प्राप्त गरी राष्ट्रियरुपमै गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा स्थापित भएको छ । यस कलेजबाट उत्पादित हजारौँ विद्याथीहरु स्वदेश तथा विदेशमा विशिष्ट पदमा आसीन हुनुका साथै नेतृत्वदायी भूमिकामा रही रोजगारदाताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । २०४३ सालमा बीजारोपण भएको यस शिक्षालयले वर्तमान समयमा पुष्पित र पल्लवित हुँदै अनेकौँ आरोह–अवरोहलाई भुल्दै अगाडि बढेको छ । ‘विद्याधनम् सर्वधनम् प्रधानम्’ यस पूर्वीय चिन्तनले शिक्षाको महत्वलाई मुखरित गरेको छ । जसबाट शैक्षिक क्षेत्रमा राष्ट्रको लगानीभन्दा पनि समुदायको लगानीबाट शैक्षिक गुणस्तर अभिवृद्धिमा अहं भूमिका रहेको पुष्टि हुन्छ ।
    वर्तमान युग विज्ञान र प्रविधिको युग हो । आजको शिक्षा प्रविधिमैत्री हुनुपर्छ भन्ने कुरामा बालकुमारी कलेजले जोड दिँदै आएको छ । सोही उद्देश्यअनुरुप स्नातक तहमा बिआइसिटिई कक्षा सञ्चालन गरी आत्मनिर्भर र प्रविधिमैत्री जनशक्ति उत्पादन गर्दै आएको छ । वर्तमान युगमा आइटी नवजीवनको आधारभूत आवश्यकताकै रुपमा देखा पर्दै गएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आइटी शिक्षाको अभिन्न अङ्गको रुपमा देखा पर्दै गएको कुरा नकार्न सकिँदैन । समयसापेक्ष बालकुमारी कलेजले पनि आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको कुरा छर्लङ्ग नै छ । एमआइसिटीको कक्षा सञ्चालन गर्ने लक्ष्यअनुरुप त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डिनको कार्यलयमा प्रक्रिया अगाडि बढाइरहेको छ । बालकुमारी कलेजले यस क्षेत्रको मात्र नभई राष्ट्रियस्तरमै अग्रस्थानमा रहेर शैक्षिक नेतृत्व कुशलता र सफलतापूर्वक निर्वहन गर्दै आएको छ ।
    स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायअन्तर्गत एमबिएस कार्यक्रम अत्यन्त सफलतापूर्वक सञ्चालन गर्दै आएको र विगत लामो समयदेखि शिक्षा सङ्कायअन्तर्गत पनि एमएड कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । व्यवस्थापन र शिक्षा सङ्कायअन्तर्गतका दुईवटा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको यस कलेजले एमबिएजस्तो मह¤वपूर्ण स्वायत्त कार्यक्रम सञ्चालन गर्न पाउँदा गर्वको अनुभूति भएको छ । एमबिएजस्तो स्वायत्त कार्यक्रम सञ्चालनको माध्यमबाट बालकुमारी कलेज विश्वविद्यालयतर्फ उन्मुख रहेको आभाष भएको छ । विश्वविद्यालय स्थापनाका लागि कलेजको शैक्षिक पूर्वाधार निर्माण गरिसकेको र भौतिक पूर्वाधार निर्माणका लागि कलेजकै स्वामित्वमा भ.म.न.पा. वार्ड नं–५, यज्ञपुरीमा ३ बिघा जग्गा रहेकाले उक्त जग्गामा दीर्घकालीन योजना गरी स्नातकोत्तर तहका कार्यक्रम तथा प्राविधिक शिक्षाअन्तर्गतका कार्यक्रमहरु सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गरी सामाजिक एवं राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने लक्ष्य रहेको छ । विश्वविद्यालय स्थापनातर्फ उन्मुख रहेको यस बालकुमारी कलेजले प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादनबाट व्यक्ति, समाज र राष्ट्रको उन्नति एवं प्रगतिमा टेवा पुग्ने कुरामा दुईमत नहोला । बालकुमारी कलेजको शैक्षिक कार्यक्रम अन्तर्गत एमबिए (अटोनोमस) कार्यक्रम सञ्चालन गरी यतिबेला फेरि एकपटक नेपालकै अग्रणी कलेजका रुपमा स्थापना भई विश्वविद्यालय निर्माणको चरणमा उन्मुख भएको अनुभूति भएको छ । (लेखक खनाल बालकुमारी कलेज नारायणगढका प्रिन्सिपल हुनुहुन्छ ।)

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt