दशैको सामाजिक पक्ष
बाबुराम दवाडी
भरतपुर ९ चितवन
नेपालीहरुको प्रमुख चारु मध्ये दशै पनि एक हो। दशैलाई नेपालको राष्ट्रिय चाडको रुपमा समेत मानिन्छ। दशैलाई बडादशै, बिजया दशमी, नवरात्री, नौरथा दशहरा आदि नामले चिनिन्छ। बर्षा ऋतु सकिएर शरद ऋतु शुरु भएपछि दशै शुरु हुन्छ। हामी कहाँ प्रयोग हुने पात्रो पृथ्वीवाट देखिने सूर्यको अबस्थिति अनुसार परिवर्तन हुने “सौर्यमास” र चन्द्रमाको अबस्थिति अनुसार गणना हुने ” चन्द्रमास” को मिश्रित रुप हो। हाम्रा चाडपर्वहरु केही सौर्यमासको गते अनुसार मनाइन्छ भने केही चाडपर्वहरु चन्द्रमासको तिथिका आधारमा मनाइन्छ। नव बर्ष, असार पन्द्र, साउने सक्रान्ती, पुस पन्द्र, माघे संक्रान्ति अथवा माघी आदि सौर्यमासको गतेका आधारमा मनाइने चाडपर्बहरु हुन। बुद्ध पूर्णिमा, गुरु पूर्णिमा, नाग पन्चमी, जनै पूर्णिमा, बडादशै, तिहार, छठ, चैते दशै (रामनवमी) आदि चन्द्रमासको तिथिका आधारमा मनाइने चाडपर्वहरु हुन। सौर्यमासको गते अनुसार मनाइने चाडपर्वहरु हरेक बर्ष निश्चित गतेमा पर्दछन भने चन्द्रमासको तिथि अनुसार मनाइने चाडपर्वहरु सबै बर्ष एकै गते पर्दैनन। केही दिन अगाडि पछाडि पर्दछन।

बडादशै आश्विन शुक्ल प्रतिपदामा शुरु भएर आश्विन शुक्ल पूर्णिमामा समाप्त हुन्छ। पन्द्र दिनसम्म मनाइने यो चाड नेपालीहरुको सबैभन्दा लामो अबधि मनाइने चाड पनि हो। आश्विन शुक्ल प्रतिपदाका दिन शक्तिपिठ अर्थात देवीका मन्दिरहरुमा र घरघरमा घटस्थापना गरेर र जमरा राखेर दशै शुरु हुन्छ। प्रतिपदा देखि नवमीसम्म नवदुर्गा ( शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिध्ददात्री) को पूजाआरधना गर्ने, दुर्गा सप्तशती ( चण्डी ) पाठ गर्ने र विभिन्न शक्तिपिठहरुको दर्शन गर्ने गरिन्छ। बडादशैको दशौ दिनलाई सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। यस दिन घटस्थापनाको दिनदेखि नौ दिनसम्म पूजाआरधना गरेका नवदुर्गालाई बिसर्जन गरि घटस्थापना गरेको घडाको जलले अभिषेक गरि आफूभन्दा ठूलाबडा र मान्यजनको हातवाट भगवतीको प्रसाद स्वरुप टीका थाप्ने, प्रसाद ग्रहण गर्ने र आशिर्वाद लिने गरिन्छ। टीका रातो र सेतो लगाउने चलन छ। रातो टीका लगाउनेले चामलमा रातो अबिर र गाईको दूधको दही मिसाएर मुछेर टीका तयार गर्दछन भने सेतो टीका लगाउनेले चामलमा गाईको दूधको दही मिसाएर मुछेर टीका तयार गर्दछ। टीकासंगै घटस्थापनाको दिन राखिएको जमरा पनि लगाइन्छ। टीकालाई बिनयशीलता, बीरता, ऎश्वर्य र धनधान्यको प्रतीक मानिन्छ। जमरालाई सितलता, संमृध्दी, स्वास्थ्य, निरोगिता र दीर्घायुको प्रतीक मानिन्छ।
मानिसको मस्तिष्कमा रहेका बिकारहरुलाई हटाई पराक्रमी र पुरुषार्थीभावको बिकासकालागि टीका लगाइन्छ। टीकाले मन, मस्तिष्क र बिचारलाई शुद्ध र चेतना युक्त बनाउँछ भन्ने शास्त्रीय मान्यता छ। त्यसैगरी दशैको टीकाले मानिसको मनभित्र रहेका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, अहंकार, आलस्य, हिँसा , चोरी जस्ता बिकृती छोड्नुपर्ने सन्देश दिन्छ। दशै कहिलेदेखि मान्न थालियो भन्ने आधिकारिक पुष्टि कतैवाट हुदैन। भगवतीले दानवी शक्तिमाथि बिजय प्राप्त गरेको खुशियाली र त्रेता युगमा भगवान श्रीरामले राक्षस राज रावणमाथि बिजय प्राप्त गरेको खुशियालीमा दशै मनाउन थालिएको मान्यता छ। जे होस दशैले असत्य माथि सत्यको बिजय र असुरी शक्ति माथी दैवी शक्तिको विजयको प्रतिकका रुपमा मनाउन थालिएको जनबिश्वास छ।
दशै नेपाल बाहेक भारतका विभिन्न राज्यहरु, भुटान, म्यानमार, थाइल्यान्ड र नेपालीहरु बसोबास गर्ने बिश्वका अन्य देशमा पनि मनाइन्छ। भुटान र भारतीय राज्य सिक्किममा नेपालमा जस्तै गरि दशै मनाइन्छ। भारतका नेपाली भाषी बसोबास गर्ने उत्तरपूर्बी राज्यहरु मेघालय, अरुणाचल, आसाम, नागाल्याण्ड, मणिपुर, त्रिपूरा, उत्तराखण्डको देहरादुनमा दशहराको नाममा दशै मनाइन्छ। तामिलनाडु, आन्द्रप्रदेश र कर्णाटकमा दशहरा नौ दिनसम्म मनाइन्छ। भारतको कास्मिरमा पनि दशै मनाइन्छ। दशैमा गरिने क्रियाकलापहरु मध्ये घटस्थापना, जमरा राख्ने, शक्ति पीठहरुमा नियमित दर्शन र पुजाआजा गर्ने, शक्तिपीठ्हरुमा बली दिने र मान्यजनवाट टीका थापी आशीर्वाद लिने काम प्रमुख हुन। दशै प्रतिपदादेखि नवमीसम्म हजारौं कुखुरा, परेवा, हाँस,सुँगुर, बँदेल, भेडा, च्याङ्ग्रा, राँगा, खसी, बोका लगायतका पंक्षी र जनावरहरुको बली दिइन्छ। यसमा पनि अष्टमी र नवमीमा धेरै बली दिइन्छ। यसरी बली दिँदा देवी प्रशन्न हुन्छिन भन्ने मान्यता छ। बलीका नाममा हजारौं अबोध पशुको हत्या हुने गरेको भनी पशु अधिकारवादीहरुली आवाज उठाउने गरेका छन तर पनि बली दिने यो परम्परा तत्काल रोकिने अबस्था देखिदैन। दशैको अर्को पक्ष हो तास, जुवा, कौडा र लंगुरबुर्जा खेल्नु। यस्ता खेलवाट धेरैको खल्ती रित्तिएको र घरखेत समेत हारेका उदाहरणहरु छन। दशैको नाममा यो बिकृत पक्ष हो। यस प्रकारका सबै खेलमा प्रतिबन्ध लगाउनु पर्छ।
दशैको अर्को उज्यालो पक्ष हो नयाँ लुगा। पहिले पहिले गाउँघरमा पसल नजिक नहुने र हातमा पैसा पनि नहुने हुँदा दशैमा मात्र नयाँ लुगा किन्ने चलन थियो। आजभोलि देशका सबै स्थानमा पसलहरु पुगेकाले पैसा हुनेहरुका लागि नयाँ लुगा किन्न दशै नै कुर्नुपर्ने अवस्था छैन। तर हुँदा खाने बर्गका लागि त अझै पनि दशै नै कुर्नुपर्ने अवस्था छ। दशैमा एउटा भनेपनि नयाँ लुगा लगाउनु पर्ने मान्यता अझै बिद्यमान छ। साथमा सधै पैसा नहुनेले पनि कमाएको थोरै थोरै बचत गरेर, सरसापट गरेर अथवा ऋण गरेर पनि आफ्नो र परिवारका लागि दशैमा लुगा किन्दछ्न।
दशैको अर्को सामाजिक पक्ष हो सबै परिवार भेट हुनु। पेशा, ब्यबसाय, जागिरका लागि घर बाहिर र टाढा रहेकाहरु दशैमा घरमा जम्मा हुन्छन। पहिले पहिले गाउँघरमा लाहुरेहरु सामानका भारी भरियालाई बोकाएर टेप बजाउँदै घर फर्कन्थे। अहिलेपनि दशैमा परिवार जम्मा भएर मनाउने चलन छ। यसले गर्दा पारिवारिक एकता र मेलमिलापमा सहयोग पुगेकोछ।
दशै शुरु हुने केही दिन अगाडि देखि नै घर सफा गरिन्छ। कतिपयले घरमा नयाँ रंग समेत लगाउँछन। पहिले पहिले गाउँघरमा घरको भुइँ र तल्लो भागमा रातोमाटोले पोतेर माथिल्लो भागमा सेतो कमेरो लगाइन्थ्यो। रातो माटोले पोतेको भित्तामा रंगीचंगी बुट्रटेदार पुरेनी भर्ने चलन थियो। यस्तै दशैमा गाउँ र टोल सफा गरिन्छ। बर्षायाममा उम्रेका घाँस , झाडी काटेर सफा गरिन्छ। चाडपर्व मनाउँदा हुनेले आडम्बर देखाउने गर्दा सर्वसाधारणलाई असजिलो हुने गरेको छ। अहिले दशै मनाउन पनि टोल, छिमेक र आफन्तलाई देखाउन गरिने जस्तो हुँदै गएको छ। दशै लगायत नेपालका सबै चाडपर्व आडम्बरी, खोक्रो र मूल्यहिन हुंदैहोइनन्। दशै समस्त नेपालीहरुको धार्मिक, सांस्कृतिक, सामाजिक र बैज्ञानिक महत्त्व र मूल्यको पर्व हो। बडादशै सनातन परम्परा, संस्कार, संस्कृति, धर्म, आस्था र बिश्वाससंग जोडिएको पर्व हो। यो पर्व समाजमनोबिज्ञान, मनोबिज्ञान र व्यबहार बिज्ञानसंग संबंधित छ।