• चितवनमा होटल स्तरिकरण तिव्र, अशोका र भेटघाट अतिउत्तम


    सन्तोष देवकोटा
    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनले जिल्लाका होटल तथा रेष्टुरेण्टहरुको स्तरीकरणलाई तिव्रता दिएको छ । विभिन्न मापदण्डको आधारमा वार्षिक कार्यक्रम अन्तरगत कार्यालयले जिल्लाका होटलहरुको स्तरीकरण गरेको हो । कार्यालयले विभिन्न सरोकारवाला निकायहरुको उपस्थितीमा शुक्रवार पनि भरतपुर नारायणगढ क्षेत्रका होटलहरुको स्तरीकरण गरेको छ ।
    कुल सय पुर्णाङ्कमा ५० देखि ६४ प्रतिशत अंक ल्याउनेलाई समान्य, ६५ देखि ७९ प्रतिशत अंक ल्याउनेलाई सन्तोषजनक (एक तारा), ८० देखि ८९ प्रतिशत अंक ल्याउनेलाई उत्तम (दुई तारा), ९० भन्दा धेरै प्रतिशत अंक ल्याउने होटललाई अतिउत्तम (तीन तारा) गरि चार तहमा वर्गिकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले जानकारी दिनुभयो ।
    शुक्रवार गरिएको अनुगनका क्रममा होटल अशोका र भेटघाट रेष्टुरेन्टले अतिउत्तम (तिन तारा)को स्टिकर प्राप्त गरेको छ भने नारायणगढ स्थित श्रेष्ठ तन्दुरी र होटल रोयल सेन्चुरीले उत्तम (दुई तारा)को स्टिकर प्राप्त गर्न सफल भएको छ । यसैगरी होटल ग्लोवल, क्युमिन रेष्टो, थकाली भान्छा र तन्दुरी रेष्टुरेन्टले सन्तोषजनक –एक तारा) प्राप्त गरेका छन् भने मुनस्टारले सामान्य स्थान हासिल गरेको छ । यसैगरी धौलागिरी होटल र मार्फा किचनले भने सुधार गर्नुपर्ने अवस्था देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक प्रदिप काफ्लले जानकारी दिनुभयो ।
    जिल्लामा होटल स्तरिकरणलाई तिव्रता दिएसंगै व्यवसायीमा उत्साह देखिएको छ । गत वर्ष सौराहाका होटल स्तरिकरण गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनले यसवर्ष भरतपुर र नारायणगढका दर्जन वढि होटल स्तरिकरण गरिसकेको छ । होटलको स्तरिकरण पछि सरसफाई, हाइजेनिक खाद्यवस्तु र व्यवस्थापनको पक्षमा सुधार आएको होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ वजार इकाईका अध्यक्ष कृष्ण महतोले जानकारी दिनुभयो ।
    होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले होटल स्तरिकरण गरेपछि व्यवसायमा सकारात्मक सुधार आएको वताउँदै आगामी दिनमा अन्य क्षेत्रका होटलहरुलाई पनि स्तरिकरण गरिने जानकारी दिनुभयो । शुक्रबारको स्तरिकरण कार्यक्रममा होटल व्यवसायी संघ चितवनको तर्फवाट अध्यक्ष दिलकुमार श्रेष्ठ, सचिव रामबहादुर गुरुङ, कोषाध्यक्ष जनक पौडेल, सहकोषाध्यक्ष ऋषिकेश अर्याल, नारायणगढ वजार इकाई अध्यक्ष कृष्ण महतो, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष नारायणवावु श्रेष्ठ, सदस्य शालिग्राम पोख्रेल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि श्याम सुन्दर ढकाल, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt