गोरखा/गोरखामा निषेधाज्ञाको अवधि थपिएको छ । थपिएसंगै गोरखामा आगामी जेठ २५ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ । शुक्रबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरिएको थियो ।
यसअघिको निषेधाज्ञामा निर्माण सामग्री बोकेका सवारी साधन रातिको समयमा मात्र चल्न पाउने व्यवस्था गरिए पनि पछिल्लो समय थपिएको निषेधाज्ञाको समयमा भने दिउँसो चल्न पाउने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
त्यस्तै बैठकले खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य पसलहरु, निर्माण सामग्री वितरण गर्ने पसलहरु र वर्कसप बिहान ५ देखि ९ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । दर्तावाला व्यवसायीले मात्र बाहिरी जिल्लाबाट तरकारी र फलफुल ढुवानी गर्न पाउने छन् । एन्टिजेन तथा पीसीआर परीक्षणको दायरा बढाउन सबै स्थानीय तहलाई अनुरोध गरिएको पौडेलले बताए ।