• गजलः हेर्नुस्


    बालकृष्ण खनाल
    भरतपुर, चितवन

    मख्ख नपर्नुस् छिमेकीको कुनै सहयोगमा उसको दाउमा हेर्नुस्
    बदलामा सिमाना काँहाँ छ मिचिएको बोर्डर छेउ छाउमा हेर्नुस् ।

    मझधारमा हुनुहुन्छ सिंगै देश बोकेर हिँडनु भएको छ काँधमा
    दाँयाँवाँयाँ नजर लाउने छुट छैन मात्र आफू सवार नाउमा हेर्नुस् ।

    महंगीले आकाश छोएको छ ठगिएका छन् किसान र ग्राहकहरू
    जानुस् पहिला विचौलिया र साहुले तोक्ने बजार भाउमा हेर्नुस् ।

    तपाईंले केही कुरा पनि सोध्नै पर्दैन आफ्ना सल्लाहकारहरू सँग
    आँफैले उठाउने हरेक कदम, टेक्ने धर्ती अनि आफ्नै पाउमा हेर्नुस् ।

    देश दुखेको हेर्न कहिँ टाढा जानू पर्दैन प्लेन र हेलिकप्टरहरूमा
    रगतमा लतपतिएका सहिदका सपना र घाइतेका घाउमा हेर्नुस् ।

    धाउनु आवश्यक छैन कसैले पनि मठ मन्दिर देवी देउताका लागि
    साक्षात् भगवान त तपाईंका आफ्नै बृद्ध आमा र बाउमा हेर्नुस् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt